Print

क्वारेन्टाइनमा बसेर कोरोना संक्रमीतको उपचारमा खटिदैछन् पर्वत अस्पतालका स्वास्थ्यकर्मीहरु

२७ जेठ, पर्वत । जिल्लामा अहिले ९ जना कोरोना संक्रमीतलाई आइसोलेसनमा राखेर उपचार गरिएको छ । जिल्ला अस्पतालले निर्माण गरेको कोरोन अस्थायी अस्पतालमा राखेर उनीहरुको उपचार गरिदैछ ।

कोरोना अस्थायी अस्पतालमा ५ जना स्वास्थ्यकर्मीको समूह उपचारमा खटिने गरेको छ । १ हप्तामा एउटा स्वास्थ्यकर्मीको समूह उपचारमा खटिने गरी रोटेसन मिलाइएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।

उनले कोरोना अस्पतालमा खटिने डाक्टरको समूह १ हप्ता होटलको क्वारेन्टाइनमा बसेपछि पिसिआर जाँच गरिने र रिर्पोट नेगेटिभ आएमा मात्र जिल्ला अस्पतालको काममा फर्किने गरी ब्यवस्थापन मिल्याइएको बताए । कोरोना संक्रमीतको उपचार शुरु भएको १ हप्ता पुगेको छ । योसंगै पहिलो चरणमा उपचारमा खटिएका स्वास्थ्यकर्मीको टोली होटलको क्वारेन्टाइनमा गएका छन् भने नयाँ स्वास्थ्यकर्मीको समूह उपचारका लागि कोरोना अस्पतालमा गएको छ ।

पहिलो एक हप्ता डा. शुशिल शर्मा र डा. सतिस बास्तोला सहित नर्स सुजता श्रेष्ठ र रेनिसा थापाको समूहले काम गरेको छ । उक्त समुहमा एक जना सहयोगी कर्मचारी समेत छन् । उनीहरु एक हप्ताको उपचार पछि कुश्माकै होटलमा क्वारेन्टाइनका गएका छन् । उनीहरु थप १ हप्ता होटलको क्वारेन्टाइनमा बस्नेछन ।
आगामी एक हप्ताका लागि पुनः नयाँ स्वास्थ्यकर्मीको समूह उपचारमा खटिएको छ । नयाँ समूहको नेतृत्व डा. सन्तोषी थपलिया र डा. सागर बराल गर्दैछन् ।

डा. देवकोटाले आफैले पनि भर्ना भएका संक्रमीतहरुको स्वास्थ्य अवस्थाको बारेमा प्रत्येक ४ घण्टामा जानकारी लिइरहेको बताए । कोरोना संक्रमीतमा हुने जटिल कुनै समस्या नदेखिए पनि उनीहरुको स्वास्थ्यकर्मीले निरन्तर निगरानी गरीरहेका छन् ।

नियमित जस्तै खानपान गरीरहेका संक्रमीतहरुमा तत्काल जटिल अवस्था देखिए आइसियू वा भेन्टिलेटर चाहिने भएमा भने पोखरा रिफर गरिने डा. देवकोटा बताउँछन् । ५ बेडको आइसियू र भेन्टिलेटर पर्वत जिल्ला अस्पतालमा केहि दिनमै तयार गर्ने गरी प्रदेश सरकारले निर्णय गरेकोले त्यो अवधि पूर्व समस्या देखिदा विरामीलाई रिफर गर्नुपर्ने अवस्था रहेको डा. देवकोटा बताए ।

अहिले महाशिला गाउँपालिकाका ३ जना, फलेवास नगरपालिकाका ४ जना र विहादी गाउँपालिकाका २ जना संक्रमीत उपचाररत छन् ।