२६ जेठ, पर्वत । पर्वतका विकट दक्षिणी क्षेत्रका गाउँहरुमा खानेपानीको चरम अभाव छ । खानेपानीको अभाव हुनेहरु मध्ये यहाँको गाउँमा खानेपानीका लागि गोला तान्नुपर्ने अवस्था समेतको सृजना भएको छ । बिहादी गाउँपालिका ६ हनुमान डाँडाका बासिन्दाले खानेपानीका लागि हरेक शनिवार गोला परे पानी थाप्न सहजै पाउँछन् नत्र पाउँदैनन् । हरेक महिनाको अन्तिम शनिवार गोलाप्रथा गरिन्छ ।
गोला पर्नेले महिनाभर पानी थाप्न पाउने नत्र संचित पानी महिनाभर पिउनुपर्ने बाध्यता रहेको स्थानीको भनाई छ । एक पटक गोला हालेर चिठ्ठा थुतेपछि एक महिनासम्म सोही चिठ्ठाका आधारमा पानी भर्न पाइन्छ । चिठ्ठा थुत्ने कार्यक्रम बिगतका बर्षहरु देखि यस्तो अवस्था समेत स्थानयिले बेहोर्दै आइरहेका छन । पानी थाप्ने एउटामात्रै धारो छ । त्यस कारण पनि खानेपानीको समस्या ज्यूँ का त्यूँ भइरहेको छ ।
बिगत ४० वर्षदेखि प्रर्याप्त पानी भर्ने आयोजना गाउँमा सञ्चालन नभएको कारण स्थानीयले पानीका लागि सास्ती भोग्दै आएको स्थानीयबासीको भनाइ छ । गोलापछि आफनो पालामा ढुक्कले पानी थाप्न पाइएको उनीहरु बताउँछन् ।
हनुमानडाँडाका बासिन्दा करिब ४० परिवारको बस्तीमा यो समस्या हिउँद बर्खा एकै खालको छ । जनप्रतिनिधिहरु आए पछि समस्या समाधान हुने अपेक्षा गरका हनुमानडाँडावासीको समस्या भने प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले पुरा गरिदिने भएका छन् । स्थानीयले चुनावको बेलामा समेत खानेपानीको ठूलो समस्या देखाएको सम्झदै उनले खानेपानी जस्तो आधारभूत आवश्यकता पनि परिपूर्ति गर्न नपाउनु दुःखत रहेको बताए ।
आफू सांसद पदमा निर्वाचित भएपछि पहिलो कार्य योजनामा त्यो क्षेत्रमा खानेपानी पुराउनु राखेको स्मरण गर्दै पानीको श्रोतका कारण केहि समय ढिला भए पनि अव भने खानेपानी आयोजनाको निर्माण कार्य शुरुवात गरिएको सांसद गिरी बताउँछन ।
स्थानीय अगुवाहरुले पञ्चायतकै पालामा जिल्लासम्म निकै संघर्ष गरेर गाउँसम्म पाइप बोकेर खानेपानीको धारो ल्याएका थिए । त्यसपछि नयाँ आयोजना सञ्चालन त्यो क्षेत्रमा सञ्चालन भएको छैन ।
२०३५ सालमा खानेपानीको धारा जडान भएपछि छिमेकी गाउँका बासिन्दाले पाइप काटिदिएपछि पानी आउनै छाडेको गाउँलेहरु बताउँछन् । पछि दैनिक २ घण्टा पानी दिने सहमति भएपनि अहिले हनुमानडाँडाका बासिन्दाले त्यही पानीमा चिट्ठा लगाएर भर्दै आएका छन् । अव भने ८ करोड ७६ लाख ४२ हजारको लागतमा बहुबर्षिय योजना अन्तर्गत खानेपानीको आयोजनाको काम शुरुवात भएको छ । यो आयोजना सम्पन्न हुँदा ५ सय ३३ धाराहरु निर्माण हुन्छन । यसले शालीग्रामसंगै छिमेकी वहादीका केहि वस्तीहरु समेत लाभान्वित हुनेछन् ।
निर्माण कार्य छिटो सक्ने गरी काम गर्न सवै स्थानीय र जनप्रतिनिधितहरुको सहयोग आवश्यक रहेको सांसद गिरीको भनाई छ ।




