Print

पैयू गाउँपालिकाको हुवासमा शहिद स्मृति भवनको निर्माण कार्य शुरु

२३ जेठ, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र पैयू गाउँपालिकाका हुवासमा शहिद स्मृति सभाहलको निर्माण कार्य शुरु गरिएको छ । सांसद पदम गिरीद्धारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत विनियोजीत ५० लाख रुपैंयाको लागतमा स्मृति भवनको निर्माण कार्य शुरु गरिएको हो ।

पैयू गाउँपालिकामा बजार क्षेत्र बढ्दै गईरहेको ब्यापारी प्रतिष्ठानहरु थपिँदै जाँदा सार्वजनिक सभाहलको अभावलाई परिपूर्ति गर्नका लागि सांसद गिरीले उक्त स्थानमा शहदि स्मृति भवनको लागि बजेटको ब्यवस्था गरेका हुन । पैयू गाउँपालिकाको कार्यालय मार्फत उक्त सभाहल तथा भवन निर्माण कार्यको शुरुवात भएको छ । ५० लाखको लागतमा बोलपत्र आब्हान मार्फत ४१ लाख ९१ हजार ९ सय ५ रुपैंयामा आयोजना सम्झौता भई निर्माण कार्य शुरु गरिएको पैयू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिए ।

स्मृति भवनका लागि १ रोपनी २ आना क्षेत्रफलको जग्गा स्थानीयले निशुल्क सहयोग गरेका छन् । स्थानीय रमाकुमारी श्रेष्ठ, जीप्रसाद श्रेष्ठ, काशीराम गौतम, दानकाजी श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ र दानप्रसाद श्रेष्ठ सभाहल तथा भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गरेका छन् । स्मृति भवन तथा सभाहलको जग्गादाताको तर्फबाट रमाकुमारी श्रेष्ठ र शहिद परिवारको तर्फबाट विष्णु कुमारी गौतमले शिल्यान्यास गरे । भवन निर्माण कार्यको विनियोजीत रकमले असार मसान्तसम्म काम सक्ने गरी काम तिव्र गतिमा भईरहेको नेकपाका स्थानीय नेता चोकलाल न्यौपानेले जानकारी दिए । कृष्ण गौतम शहिद स्मृति प्रतिष्ठान मार्फत उक्त भवनको निर्माण कार्य अघि बढेको छ ।

ठूला सार्वजनिक कार्यक्रमहरु गर्न हलको अभाव भईरहेको बेला यो भवनले त्यो आवश्यकतालाई परिपूर्ति गर्ने गरी भवनको निर्माण कार्य भईरहेको छ । आगामी बर्षका लागि शहरी विकास कार्यक्रम मार्फत सांसद गिरीको पहलमा थप ५० लाख रकम समेत विनियोजन भएको छ । भवन निर्माणका लागि झण्डै २ करोड रकमको लागत अनुदान गरिएको छ । पैयू गाउँपालिका वडा न ४ स्थित हुवास लुंख सडक खण्डसंगैको जग्गामा भवन निर्माण कार्य अघि बढेको हो ।