२० जेठ, पर्वत । पहिलो पल्ट कोरोना संक्रमीत भेटिएको पर्वत जिल्लामा यस अघि नै निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा संक्रमीतहरुको उपचार हुने भएको छ । पर्वत जिल्ला अस्पतालले कोरोना विरामीको उपचार गर्नका लागि कुश्मा ४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अस्थायी कोरोना अस्पतालको स्थापना गरेको छ ।
पर्वत जिल्लाका ७ वटै स्थानीय तहहरुको समेत सहयोगमा स्थापना गरिएको उक्त अस्पतालमा नै पहिलो पल्ट भेटिएका ५ जना कोरोना संक्रमीतको उपचार हुने पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार मंगलबार उनीहरुलाई कोरोना अस्पतालमा सारिएको छ । कोरोना संक्रमीत भेटिएका उनीहरु भारतबाट आइ सदरमुकाम कुश्मा बजारका क्वारेन्टाइनमा बसेका थिए ।
संक्रमीत ५ जना मध्ये २ जना फलेवास नगरपालिका र ३ जना महाशिला गाउँपालिकाका छन् । उनीहरु मध्ये फलेवास नगरपालिकाका २० र ४० बर्षका दुई पुरुष छन् भने महाशिला गाउँपालिकाका १९, २० र २१ बर्षका पुरुषहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. देवकोटाले जानकारी दिए । पर्वत कोरोना अस्पतालमा २० शैया रहेको छ । संक्रमीत बढ्दै जाँदा वेड संख्याको भने अभाव हुने देखिन्छ । भारतबाट आउने क्रम निरन्तर भइरहेका कारण संक्रमीतको संख्या अझै बढ्ने देखिन्छ ।
पछिल्ला पल्ट ३९ जनाको थ्रोड स्वाब परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि लक डाउनकै अवधिमा आएक ४८ जनाको कोरोना रिर्पोट नेगेटिभ आइसकेको छ ।
उनीहरुलाई थप समय क्वारेन्टाइनमा बस्नका लागि गाउँपालिकाको जिम्मा लगाइएको छ । योसंगै हालसम्म भारतबाट आएका ८७ जना मध्ये ५ जनामा संक्रमण पुष्टि भएको छ ।




