१९ जेठ पर्वत । जिल्लाका लागि संघीय सरकारबाट समपुरक अनुदान तर्फ ७ करोड १२ लाख रुपैंया विनियोजन भएको छ । जिल्लाका ४ स्थानीय तहले समपुरक अनुदान पाउने भएका छन । जिल्लाको कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र विहादी गाउँपालिकाले समपुरक अनुदान पाउनेछन ।
अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा जिल्लाका ४ स्थानीय तहले समपुरक अनुदान पाउने भएका हुन । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माका अनुसार बजेटमा फलेवास नगरपालिकाको रकम छुट गए पनि थप ५ करोड समपुरक अनुदानमा फलेवास समेत रकम पाउने बताउँछन् ।
उनले प्राविधिक कारण बजेट किताबका रकम छुट गएको मन्त्रालयले स्विकार गरेका कारण नगरपालिकाका थप ५ करोड समपुरक अनुदान तर्फ रकम आउने नगरप्रमुख शर्माको भनाई छ । बाँकी स्थानीय तहका लागि भने समपुरक अनुदान उपलब्ध हुने छैन । कुश्मा नगरपालिकाले समपुरक अनुदान तर्फ ५६ लाख रुपैंया प्राप्त गर्नेछ ।
महाशिला गाउँपालिकाले समपुरक अनुदान तर्फ १ करोड ३६ लाख रुपैंया प्राप्त गर्नेछ । यसैगरी मोदी गाउँपालिकाले समपुरक अनुदान तर्फ १ करोड २० लाख रुपैया प्राप्त गर्नेछ । विहादी गाउँपालिकाले समपुरक अनुदान तर्फ ४ करोड रुपैंया प्राप्त गर्नेछ ।
जिल्लाका ४ वटा स्थानीय तहलाई संघीय सरकारले विशेष अनुदान उपलब्ध गराएको छैन । संघीय सरकारले ल्याएको बजेटमा जिल्लाका १ नगरपालिका सहित ३ गाउँपालिकालाई विशेष अनुदान प्राप्त गर्ने छैनन् ।
यसैगरी संघीय सरकारले विशेष अनुदान मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका लागि विशेष अनुदान उपलब्ध गराउने गर्दछ । त्यो अनुदानबाट जिल्लाका ४ वटा स्थानीयहहरु बञ्चित भएका छन् । जिल्लाका फलेवास नगरपालिका, मोदी गाउँपालिका र महाशिला गाउँपालिकाले विशेष अनुदान प्राप्त गर्नेछन् ।
संघीय सरकारमा विशेष अनुदान कार्यक्रममा पछि परेको वर्ग, समुदायको स्तरोउन्नतीका लागि पहिले नै प्रस्तावना पेश गर्नुपर्ने हुन्छ । त्यो प्रस्ताव पेश नगर्ने स्थानीय तहका लागि संघले बजेट उपलब्ध गराउँदैन ।
जिल्लाका ३ स्थानीय तहले प्रस्तावना पेश गरेका आधारमा संघले विशेष अनुदान रकम उपलब्ध गराउने भएको हो । पर्वत जिल्लाका लागि कुल ४ करोड ५५ लाख रुपैंया उपलब्ध गराउने भएका छ । जस मध्ये फलेवास नगरपालिकामा २ करोड ३५ लाख, मोदी गाउँपालिकामा १ करोड र महाशिला गाउँपालिकामा १ करोड २० लाख रुपैंया उपब्लध गराउनेछ ।




