संघीय बजेट : पर्वतमा आयोजनाहरु थपिए, आयोजनागत रकम घट्योे

१८ जेठ, पर्वत । गत बर्षहरुमा विनियोजन हुँदै आएका पर्वतका संघीय आयोजनाहरुमा बजेटको आकार घटेको छ । लक डाउन र कोरोना प्रभावले आगामी बर्ष कार्यान्वयन हुने भौतिक पूर्वाधार निर्माणका सडक तर्फका आयोजनाहरुमा रकम घटेको हो ।

पर्वतबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पदम गिरीका अनुसार पूर्वाधार तर्फ सडक निर्माणका लागि गत बर्षहरुमा विनियोजन भएको अंकको बजेट यस बर्ष विनियोजन भएका छैनन् । केहि नयाँ सडक र पुलका आयोजनाहरु थप भएपनि आयोजनामा गत बर्षहरुमा विनियोजन हुने रकम भने घटेको छ ।

गर्त बर्ष १ करोड रकम विनियोजन हुँदै आएका सडकहरुमा यस बर्ष भने ४० लाख मात्र विनियोजन भएको छ । बजेट अभावका कारण कम बजेट विनियोजन गरिएको सांसद गिरी बताउँछन् ।

राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डको सानो भागमा काम गर्ने गरी ४० लाख मात्र विनियोजन भएको छ । यो सडकको नाम घुमाउने दह–माझफाँट–कुश्मा–मिर्मि–चापाकोट–देवघाट–त्रिवेणी सडक राखिएको छ । यद्यपि यो रकमले पर्वतको माझफाँट खण्डमा काम हुनेछ ।

सांसद गिरीले महत्वका साथ गत बर्षहरुमा १ करोड रकम विनियोजन गरेका कुश्माको साइकलचोक देखि गहते पोखरा हुँदै ठूलीपोखरी–खौला–आर्थर–सडक, सहस्रधारा–टार–ततरकोट हुँदै बनौं सडक र कुश्मा–दुर्लुङ सडकमा पनि ४० लाख मात्रै विनियोजन भएको छ ।

प्रदेश सरकारले समेत निर्माणमा सहयोग गरीरहेको पर्वत–चिसापानी–हुवास–बराचौर–खडगकोट–बरेङ–वाग्लुङ सडकमा पनि ४० लाख मात्र विनियोजन भएको छ ।
गुल्मी–शान्तिपुर–पूर्तिघाट–रानीपानी–कुस्मा–दुर्लुङ–बाजुङ–लेकफाँट–घोडेपानी सडक, कुश्मा–छमर्के–कोटगाउँ हलहले –काफलडाँडा सडक, पनि ४० लाखका दरमा बजेट बिनियोजन भएको छ । यी आयोजनाहरुमा पनि गत बर्ष ५० लाखका दरले रकम विनियोजन हुने गरेको थियो ।

यस बर्ष ठाडाकुना–लाम्पाटा–वि.क. टोल हुँदै झोलुंगे पुल सडक, बारीबेनी–बगरफाँट–बाँसखर्क, वारीबेनी–कोटघर–सम्मेर –बासखर्क सडक, हिमालय मा.वि.बाट कालीमाटी हुँदै घैरेनी मा.वि. जोड्ने सडक संघीय सरकारका बजेटमा समावेश भएका छन् । यी आयोजनाहरुमा पनि ४० लाखका दरले रकम विनियोजन गरिएको छ ।

पकुवा – छापा – ठाँटी सडक कुश्मा नगरपालिका – ११ र चुवा–सोती–दुर्लुङ कुश्मा नपा ८ र ३ का जोड्ने सडकका लागि भने ५० लाखका दरले रकम विनियोजन भएको छ । यी दुवै सडक संघीय सरकारको बजेटका लागि नयाँ सडक हुन् ।

संघीय सरकारले साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको छ । एकोहोरेपाखा–बितलब–लहरेचौपारी–टारी–वडा कार्यालय सडक कुनपा १० का लागि १५ लाख, तथा तस्लाचौर–मरेपिपल–बाह्रविसे–कालीमाटी हुँदै २ नं वडा जेड्ने कुनपा १ र २ का लागि १० लाख बजेट बिनियोजन भएको छ ।

संघीय सरकारमा सबैभन्दा ठुलो बजेट पोखराबाट पर्वतको सेतीबेणी हुँदै रिडी जोड्ने पोखरा रिडी सडकका लागि ४ करोड बजेट बिनियोजन गरेको छ । यो सडकको पोखराको पामे देखि भदौरे, राम्जा, कार्किनेटा, लुंखु, सेतीबेणी हुँदै रिडी यस बर्षको बजेट देखि राष्ट्रिय राजमार्गको रुपमा छनौट भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाको पहलमा यो सडक दुई प्रदेश जोड्ने सडकमा समावेश भएको तिमिल्सीनाको सचिवालयले जनाएको छ ।

यसैगरी गत बर्षहरु देखि नै क्रमागत आयोजनाको रुपमा रहेको कुश्माको बसपार्क र सिटीहल निर्माणका लागि १ करोड बजेट बिनियोजन भएको छ ।
बागलुङ्गको जैमुनीघाट– र पर्वतको फलेबास मरेघाटमा कालीगण्डकी नदीमामा पुल र भुक सेरा बेसी नयाँ पुलमा पर्वत र सल्यान जोडने मोदी खोला पुलमा १÷१ करोड बजेट बिनियोजन भएको छ ।

यसैगरी लाम्पाट हिमालय माविको बिचमा पर्ने खहरे खोला पुल, हुवास २ र ३को बिचमा पर्ने गल्छिनाघाट पुल, घुम्ती लाम्पाटा सडकको रिठेखोला पुल तथा मोदी ५ र ६ अम्बोटमा बन्ने मोदीखोला पुल तथा कुस्मा र ज्ञादी जोड्ने झाप्रेबगर पुलका लागि ४७ लाख ५० हजारका दरमा बजेट बिनियोजन भएको छ ।

यस्तै बिरेठाँटी भूकमा भुरुङ्गदी खोला पुलका लागि ५० लाख , दुर्लुङ्ग र बाजुङ्ग सडकका बिचमा पर्ने अम्बोट खोलका पुलका लागि र डिमुवा राम्जा सडकमा पर्ने रतिखोला पुलमा ७ लाख बजेट बिनियोजन भएको छ ।