जलजला र विहादी गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने

१८ जेठ, पर्वत । जिल्लाको जलजला र विहादी गाउँपालिकामा औद्योगिक ग्राम स्थापना गरिने भएको छ । गण्डकी प्रदेश सरकारको एक स्थानीय तह एक औद्योगिक ग्राम स्थापना गर्ने अभियान अन्तर्गत जलजलामा औद्योगिक ग्राम बनाउन थालिएको हो । गण्डकी प्रदेश सरकारले औद्योगिक ग्राम स्थापना सम्बन्धी नीतिगत निणर्य गर्न संघिय मन्त्रिपरिषदमा पठाएकोमा मन्त्रिपरिषद्ले गण्डकी प्रदेशमा जलजला गाउँपालिकालाई स्वीकृत दिएको हो ।

यस अघि पर्वतको विहादी गाउँपालिका सहित ११ वटा औद्योगिक ग्राम र २ वटा औद्योगिक क्षेत्रको स्थापना गर्न स्वीकृत गरे सँगै औद्योगिक ग्राम स्थापना गर्न बाटो खुलेको हो ।

औद्योगिक ग्राम सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु.९२ लाख रकम र गण्डकी प्रदेश सरकारले रु. ५४ लाख गरी यो वर्ष रु.१ करोड ४६ लाख रुपैया आउने भएको छ ।

औद्योगिक ग्राममा विशेष गरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ । स्थानीय स्तरमा प्राप्त हुने कोदो, मकै, धान, गहुँ, फापर, दुध, मह, चिया कफी, फलफूल जडीबुटी लगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमुलक उद्योग निर्माण गर्ने उद्देश्य छ ।

प्राकृतिक रेशा उत्पादन वा रेशामा आधारित उधोग तथा काठ, बेत बाँस जन्य फर्निचर उद्योग सञ्चालन गर्न सकिने छ भने सौर्य उर्जा, नवीकरणीय उर्जा उत्पादन गर्न मेसिन उपकरण निर्माण सँग सम्बन्धित उद्योग, बायोग्यास प्लान्ट उद्योग समेत सञ्चालन गर्न सकिने भएको छ ।

यस अघि विहादीले वडा नं. २ वर्राचौरमा जग्गा व्यवस्थापन गरेर पूर्वाधार निर्माणको काम शुरु गरेको छ । उद्योग ग्राम स्थापना भएपछि यो क्षेत्रमा औद्योगिक कारखानाहरुको स्थापना हुँदा उत्पादन र रोजगार दुवैको सृजना हुने गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री विकास लम्साल बताउँछन् । दुवै औद्योगिक ग्राम स्थापनाका लागि मन्त्री लम्सालको विशेष भूमिका निर्वाह गरेका छन् ।