Print

पर्वतका झण्डै २५ हजार मानिस विदेशमा

गणेश गिरी/१७ जेठ, पर्वत । पर्वत जिल्लाका झण्डै २५ हजार मानिस विदेशमा रहेको अनुमान गरिएको छ । भारत बाहेक नेपाल सरकारबाट स्वीकृत प्राप्त राष्ट्रहरुमा जाने युवायुवतीको संख्या २५ हजारको हाराहारीमा रहेको तथ्यांकले देखाउँछ ।

२०७३ साल असार महिनामा वैदेशिक रोजगार विभागले जारी गरेको तथ्यांकमा २२ हजार ७ सय युवायुवती विदेशमा रहेको तथ्यांक रहेको थियो । विभागले जारी गरेको उक्त तथ्यांकमा १९ हजार पुरुष र ३ हजार ७ सय महिलाको संख्या देखिएको थियो । त्यो संख्या ३ बर्षको अवधिमा बढेर झण्डै २५ हजारको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।

विभागले जारी गरेको तथ्यांकमा सरकारले श्रम स्विकृत गरेर विदेशीनेको संख्या मात्र हो । पछिल्लो समय अमेरिका र क्यानडा लगाएतका देशमा अवैध तरिकाले जानेहरुको संख्या पनि ठूलो भएका कारण त्यो सख्या बढ्न सक्ने देखिन्छ । बर्षेनी २ हजार भन्दा बढि जिल्ला प्रशासन कार्यालय पर्वतबाट राहदानी लिनेको संख्या देखिन्छ । पछिलो तथ्यांक अनुसार गत फागुन महिनामा जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार वितेको ८ महिनामा २ हजार २ सय ३९ जनाले राहदानी लिएका थिए ।

कार्यालयका अनुसार साधारण राहदानी तर्फ ६ सय २२ महिला र १ हजार ८५ जना पुरुष तथा ९६ जना नाबालकले राहदानी लिएका थिए । यसैगरी द्रूत मार्गबाट २ सय २ जना महिला र २ सय ९ जना पुरुषले समेत राहदानी लिएका थिए । कुल ३३ जनाले नाबालक राहदानी दू्रत मार्गबाट लिएका थिए ।

यो तथ्यांक केलाउँदा बार्षिक २ हजारले राहदानी लिएका छन् । त्यो संख्याको आधा मात्रै पनि विदेशमा जाँदा पछिल्लो ३ देखि ५ बर्षको अवधिमा बार्षिक १ हजार मानिस विदेशीएका छन् ।

रोजगार विभाग, जिल्ला प्रशासन कार्यालयका यी तथ्यांकका आधारमा हालसम्म विदेशमा झण्डै २५ हजार युवायुवती रहेको देखिन्छ ।  विभिन्न मुलुकमा जानेले प्राप्त गर्ने तलबमान र जिल्लामा क्रियाशील मनि ट्रान्सफरले दिएको तथ्याङ्कअनुसार वार्षिक आठ अर्ब रूपैयाँभन्दा बढी विप्रेषण भित्रिने गरेको हो । विप्रेषण भित्रिने क्रम पनि बािर्ष रुपमा बढ्दै गएको थियो । तर पछिल्लो समय कोरोनाका कारण रेमिट्यान्स भने भित्रन सकेको छैन ।

विदेशमा रहेकाहरु मध्ये अधिकांश खाडी मुलुकमा रहे पछि जापान, अमेरिका, अस्ट्रलिया लगाएतका ठूला देशहरुमा जानेको संख्या पनि उल्लेख्य छ । विदेशमा रहेका उनीहरु मध्ये रोजगार गुमाएर समस्यामा परेकाहरु भने पर्वत फर्कन सक्नेछन् ।

सरकारले पछिल्लो समय विदेशबाट फर्कन चाहनेहरुलाई स्वदेश भित्राउने योजन बनाएसंगै उनीहरु मध्ये कति जना स्वदेश फर्केनेछन्, त्यो भने यकिन छैन् । यद्यपि खाडी मुलुकबाट भने ठूलो संख्यामा स्वदेश फर्कन सक्ने अनुमान गरिएको छ । कोरोना त्रासका कारण विश्व समुदायमा नै रोजगार गुमेका र उद्योग कलकारखानाहरु समेत बन्द भएको अवस्थामा आफ्नो देश फर्कनेको संख्या ठूलो हुने सम्भावना छ ।

नेपाल फर्कन चाहनेहरु सशुल्क होटलमा क्वारेन्टाइनमा बस्ने कोरोना परिक्षण गरेपछि मात्रै आफ्नो घर जान पाउने ब्यवस्था सरकारले गर्दैछ । यस्तो अवस्थामा पर्वत जिल्लामा कति मानिस फर्कन्छन । उनीहरुको होटलमा क्वारेन्टाइनको ब्यवस्थापन कसरी हुन्छ भन्ने कार्या योजना सरकारले निर्माण गर्नुपर्ने छ ।