Print

भारतबाट पर्वत फर्कन शुरु, विदेशबाट फर्केनेलाई यसरी गरौ ब्यवस्थापन

गणेश गिरी/१० जेठ, पर्वत । कोरोना संक्रमणको डरले नेपाल भर लक डाउन घोषणा गरेको २ महिना पुगेको छ । ६० दिन लामो लक डाउनले धेरैको आर्थिक अवस्था भयाभह बनेको छ । रोजगारी गुमेको छ । आम्दानी बन्द छ । श्रम वेचेर खानेहरुलाई अव यो समय लम्बिदै जाँदा भोकमरीको अवस्था आउने डर छ । पर्वत जिल्लाबाट भारत र अन्य मुलुकमा श्रमका लागि जानेहरुको यकिन तथ्यांक भने छैन् । तर भारतमा ठूलो संख्यामा पर्वतबासी दाजुभाई तथा दिदिवहिनीहरु श्रमका लागि पुगेका छन् ।
उता, खाडी, युरापेली र अन्य मुलुकहरुमा पनि पर्वत जिल्लाबासी श्रम र अध्ययनका लागि पुगेका छन् ।

नेपालमा जस्तै विदेशमा पनि लक डाउन भईरहेका कारण त्यहाँका नेपालीहरुको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको छ । धेरैले जागिर गुमाएका छन् । उनीहरु मध्ये अधिकांश आफ्नो घर फर्कन चाहन्छन् । नेपालमा आगामी जेठ महिना भर अन्तराष्ट्रिय उडान बन्द गरेका कारण तेस्रो मुलकबाट जिल्ला फर्कन चाहनेहरुलाई भने त्यो सुविधा तत्काल प्राप्त हुनेछैन् । तर, भारतमा रहेका नेपालीहरु भने घर फर्कन शुरु गरेकाछन् । भारत सरकारले रेल सेवा र केहि प्रान्तहरुमा सरकारी बस सेवा शुरु गरेपछि भारतबाट नेपाल फर्कन थप सहज पनि भएको छ ।

लक डाउनकै अवधिमा नाका सिल हुँदा लुकीछिपी आउनेहरु पनि थिए । तर, सरकारले अघोषित रुपमा भारतमा अलपत्र परेका र स्वदेश फर्कन चाहेकाहरुलाई देश प्रवेश गर्न दिएको छ । यो संगै देशमा विभिन्न नाकाहरुबाट दैनिक हजारौको संख्यामा नेपालीरु स्वदेश फर्कीरहेका छन् । कतिपय नेपालीहरु भारतकै क्वारेन्टाइनमा बसेका थिए भने कतिपय आफू रहेका स्थानबाट रेल, बस सेवा र पैदलै हिडेर नेपालका नाकासम्म आइपुगेका छन् ।

उनीहरुलाई सुरक्षित तरिकाले स्वदेशमा राख्नु, संक्रमीत भेटिएमा उपचार गर्नु नेपाल सरकारको दायित्व हो । त्यो दात्यिव पुरा गर्न सरकारले प्रयास शुरु गरेको छ । सोहि बमोजीम नाकामा आइपुगेकाहरुलाई बसको ब्यवस्था गरी सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाउने काम भइरहेको छ । भारत जानेको तथ्यांक यकिन नभए पनि पर्वत जिल्लाबाट अन्दाजी १० हजारको हाराहारीमा त्यो संख्या रहेको स्थानीय तहहरुको भनाई छ । अलपत्र परेका र रोजगारी गुमाएका आधा भन्दा बढि स्वदेश फर्कन चाहेका छन् । पहिलो चरणमा अलपत्र परेकाहरु झण्डै २ हजारको संख्यामा पर्वत फर्केनसक्ने अनुमान गर्न सकिन्छ । त्यो संख्यालाई ब्यवस्थापन गर्नका लागि क्वारेन्टाइनको ब्यवस्थापन, परिक्षण र सुरक्षित तरिकाले घरसम्म पुराउने दायित्व तिन वटै तहका सरकारको हो । यो कार्यका लागि जिल्ला प्रशासन कार्यालयले अगुवाई गरीरहेको छ ।

सरकारी तथ्यांक अनुसार पर्वत जिल्लामा ३ सय ७५ वेड क्षमताको क्वारेन्टाइनको निर्माण गरिएको छ । जिल्लाको सुरक्षा संयन्त्रले सवै वडाहरुमा पनि क्वारेन्टाइनेका निर्माण गर्न स्थानीय तहलाई अनुरोध गरेको छ । क्वारेन्टाइन निर्माण गर्ने दायित्व स्थानीय तहको हुन्छ । निर्माण भएका क्वारेन्टाइनमा बस्नेहरुलाई परिक्षण गर्ने र उपचारको जिम्मा प्रदेश सरकारको तोकिएको छ ।

संघिय सरकारले परिक्षण कार्यका लागि आवश्यक औजार उपकरणहरु उपलब्ध गराउनेछ । यी तिन वटै सरकारको समन्वय हुन सकेमा भने पर्वत जिल्लामा भित्रने पर्वतेली दाजुभाई दिदिवहिनीलाई सुरक्षित राख्न सकिन्छ । पछिल्लो दिनमा कुश्मा नगरपालिकाका केहि जनप्रतिनिधिहरुले सुरक्षा संयन्त्र बहिष्कार गरेको भन्ने सुचना बाहिरीदा त्यसले कोरोना नियन्त्रणमा भने समस्या सृजना हुने देखिन्छ । विपद्को बेला जुगाका लडाई लडेर एकले अर्कोलाइ असहयोगको ब्यवहार देखाउने हो भने परिस्थिती बद्लिएर नियन्त्रण बाहिर जान पनि सक्छ । त्यसैले पर्वत भित्रन चाहने सवैलाई जिल्लामा सकुशल ल्याउने, उपचार गर्ने र उनीहरुलाई सुरक्षित रुपमा घरमा पुराउने जिम्मा तीन तहका सरकारको हो ।

भारतबाट स्वदेश फर्कनेहरुसंगै अन्तरािष्ट्रय उडान मार्फत अन्य मुलकबाट फर्कनेहरुलाई पनि नेपाल भित्राउनु आवश्यक छ । अन्य मलुकहरुमा पनि झण्डै १० हजारकै हाराहारीमा पर्वतबासीहरु रहेका छन् । उनीमध्ये खाडी मुलुकमा रोजगारीका लागि पुगेकाहरु स्वदेश फर्कन चाहेका छन् । आधा भन्दा बढि संख्या स्वदेश फर्कन सक्छन । उनीहरुलाई समेत ब्यवस्थापन गर्ने गरी जिल्लामा आवश्यक पूर्वाधार र परिक्षणको ब्यवस्थापन मिलाउनु अवको आवश्यकता हो ।

(समाचार विश्लेषण)