Print

प्रशासन कार्यालयले पर्वत भित्रने नाका र ग्रामीण क्षेत्रमा सुरक्षा बल बढायो

८ जेठ, पर्वत । जिल्लाको शान्ति सुरक्षा र कोरोना नियन्त्रण अभियानलाई ब्यवस्थित बनाउदै लगिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले ग्रामीण क्षेत्रमा कोरोना नियन्त्रण कार्यमा सहज होस भनेर थप सुरक्षा फौज बढाईएको जानकारी दिइन ।

जिल्लाका ग्रामीण क्षेत्रमा विदेशबाट फर्कनेहरु लुकीछिपी बस्ने र कोरोना परिक्षण नगराउने सम्भावना जिल्लामा बढिरहेकोछ । यस्तो अवस्थामा कोरोना संक्रमणको दर बढ्नसक्ने अवस्था देखिएकाले पनि सुरक्षा ब्यवस्थापन मिलाइएको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् । जिल्लामा रहेका नेपाल प्रहरीका प्रहरी चौकीहरुमा आवश्यकता र मागका आधारमा थप सुरक्षा बल पठाइएको छ ।

जिल्लाको फलेवास नगरपालिका स्थित कार्किनेटा प्रहरी चौकीमा शसस्त्र प्रहरी बलको थप सुरक्षा बलको ब्यवस्थापन गरिएको प्रजिअ नेपालले जानकारी दिइन । जिल्लाको दक्षिणी क्षेत्रहरु पैयू र विहादी क्षेत्रमा पनि नेपाल प्रहरीको थप सुरक्षा फौज पठाइएको छ । जिल्लाको सुरक्षा ब्यवस्थालाई ब्यवस्थित गर्नका लागि संघिय सरकारसंग थप सुरक्षा फौजको माग गरिएको छ । जिल्ला भर नेपाल प्रहरी, शसस्त्र प्रहरीले शान्ति सुरक्षाको ब्यवस्थापन गरीरहेका छन् । क्वारेन्टाइनको सुरक्षा र आवश्यकताका आधारमा गस्ती कार्यमा नेपाली सेना पनि खटिएको छ । संयुक्तरुपमा तिन वटै सुरक्षा संयन्त्रले गस्ती गरीरहेका छन् ।

पर्वत जिल्ला र यस आपपासका क्षेत्रमा हालका लागि संक्रमीत नभेटिएका कारण लक डाउन केहि खुकुलो भने स्थानीय स्तरमा अनुभव भएको छ । यद्यपि सवारी साधनको सञ्चालनमा भने कडाइ गरिएको छ । हिजो मात्रै जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेको थियो । मुस्लिम धर्माबलम्बीहरुको पर्व इद उल फित्र पर्वको बेलामा मस्जिदमा नगई घरमै नमाज पढेर पर्व मनाउन आग्रह गरेको छ ।

प्रशासन कार्यालयले कोरोना नियन्त्रण कार्यलाई अघि बढाउनका लागि जिल्लाका ७ पालिकाका जनप्रतिनिधिहरुसंग वैठक बसेर कोरोना नियन्त्रण कार्यलाइ थप प्रभावकारी बनाउने समेत योजना निर्माण गरेको छ ।