५ जेठ, बागलुङ । वैशाख अन्तिममा पर्सामा एकै दिन ३९ लाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको पुष्टि भयो । संक्रमितमध्ये १४ जना बागलुङबाट पोखरा हुँदै वैशाख १३ गते पर्सा पुगेका थिए ।
४२ जनाको समूहमा गएका उनीहरुलाई छिपहरमाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।
गलकोट क्षेत्रमै चैतको दोस्रो साता १९ र ६५ उमेरका दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु वैशाख दोस्रो साता निको भएर घर फर्किसकेका थिए । तर गलकोटबाटै पर्सा पुगेकाहरुमा संक्रमण देखिएपछि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको त छैन भन्ने आशंका जन्मिएको थियो ।
त्यसैले गलकोटलाई सिल गरेर संक्रमितहरुको सम्पर्कमा आएकाहरुको खोजी सुरु भएको थियो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कन्ट्याक ट्रेसिङ गर्न कर्मचारी खटायो र, १०९ जनाको स्वाब परीक्षण गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ल्याइयो ।
त्यसमध्ये १०८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ‘एक जनाको स्वाब परीक्षण हुन बाँकी छ, अरुको नेगेटिभ आयो,’ शर्माले भने ।
कहाँबाट सर्यो भाइरस ?
बागलुङमा कार्यरत ४२ जना मजदुर लिएर वैशाख ११ गते बस पर्सातर्फ गएको थियो । तर पोखरा आइपुगेपछि स्थानीय प्रशासनले रोक्यो । छिपहरमाई गाउँपालिकाले क्वारेन्टाइमा राख्ने प्रतिवद्धता जनाएपछि उनीहरु १३ गते पर्सा पुगेका थिए ।
पर्सा पुगेर यात्रुहरु क्वारेन्टाइनमा बसे भने चालक र सहचालक बागलुङ नै फर्किए । बसमा सवार १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चालक र सहचालक दुवैको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । दुवैको परीक्षण नेगेटिभ आएको छ ।
सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गलकोटबासीलाई चिन्तामुक्त रहन, तर सावधानी अपनाउन आग्रह गरेको छ ।
तर अर्को प्रश्न उब्जिएको छ, ‘त्यसो भए उनीहरु क्वारेन्टिनबाटै संक्रमित भएका हुन् त ?
यसको उत्तर आइसकेको छैन । तर बागलुङबाट कोरोना सरेको होइन भन्ने चाहिँ भन्न सकियो । ‘बागलुङ कोरोना संक्रमणको सम्भावित क्षेत्र थियो, तर संक्रमितको सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ आयो,’ निर्देशनालय निर्देशक विनोदविन्दु शर्मा भन्छन्, ‘यसको मतलब उनीहरुलाई बागलुङबाट कोरोना सरेको होइन भन्ने हो ।’
त्यसैले उनीहरुलाई बसमा सवार कोही (४२ मध्ये जो पनि हुनसक्छ) वा क्वारेन्टाइनमा रहेकाहरुबाटै संक्रमण सरेको हुनसक्छ । तर जुन अझै पत्ता लागेको छैन ।




