Print

सांसद गिरीद्धारा कोरोनाको उपचार गर्न पर्वत अस्पताललाई ३ महिनाको तलब प्रदान

३१ वैशाख, पर्वत । नेकपाका सांसद पदम गिरीले प्रदान गरेको ३ महिना बराबरको तलब जिल्ला अस्पताल मार्फत खर्च गर्ने जिल्ला कमाण्ड पोष्ट पर्वत र कोभिड संक्रमण नियनत्रण समिति (सिसिएमसी)ले निर्णय गरेको छ ।

नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापना गरी पर्वत जिल्लामा कोरोना रोगको उपचारका लागि ३ महिनाको तलब सहयोग गरेका हुन ।

उनले प्रदान गरेको रकम अस्पताल सहयोग कोष मार्फत खर्च गर्ने गरी आज बसेको जिल्ला कमाण्ड पोष्ट र सिसिएमसिले निर्णय गरेको हो । उनले यस अघि प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा अत्यावश्यक उपकरण तथा सामग्री खरिद गर्न सघाउने उद्देश्यले तीन महिनाको तलब प्रदान गर्ने जनाएका थिए । देश भरमै पहिलो पल्ट जनप्रतिनिधिहरुको तर्फबाट अस्पताललाई तलब रकम सहयोगको घोषणा गर्ने गिरी पहिलो ब्यक्ति हुन् ।

सांसदको ३ महिना बराबरको तलब रकम १ लाख २६ हजार रुपैंया गिरीले पर्वत अस्पताललाई उपलब्ध गराएका हुन । सांसद गिरीले प्रदान गरेको रकम कोरोना रोकथामका लागि गठन भएको जिल्ला कमाण्ड पोष्टले आज जिल्ला अस्पताल मार्फत खर्च गर्ने निर्णय गरेको हो । जिल्ला अस्पताललाई कोरोना रोगको उपचार गने अस्पताल तोकिएको छ ।

जिल्ला अस्पतालले कोरोना रोगको उपचारका लागि अस्थायी कोरोना अस्पताल समेतको स्थापना गरेको छ । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फका विजयी सांसद गिरीले आफूलाई मतदान गर्ने जनतालाई कोरोना रोगको उपचारका लागि आफूले सहयोग गरेको बताए ।

गिरीले रोग कोरोना विरुद्धको लडाईमा सवै जना होम क्वारेन्टाइनमा बसेर सहयोग गर्न पर्वतबासीलाई आब्हान समेत गरेका छन ।