२६ चैत, बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले कोरोना संकटका बेला अझ सशक्त भुमिका खेल्न जिल्लाका पत्रकारहरुलाई आग्रह गरेको छ ।
चौतर्फी जोखिमपूर्ण अवस्थामा पनि पत्रकारहरुले अहिले सम्म खेलेको भुमिकाको प्रंशसा गर्दै महासंघले बागलुङ दुई संक्रमितको पुष्टि सँगै देशभरमै जोखिमपूर्ण जिल्लाको रुपमा देखिएकाले अझ बढि संवेदनशिल र जिम्मेवारपूर्ण भुमिका खेल्न आग्रह गरेको हो ।
महासंघका शाखा अध्यक्ष दिल शिरीषले बिहिवार बिज्ञप्ती जारी गर्दै अहिले सामाजिक सञ्जाल फेसबुकका कारण सिंगो पत्रकारिताले दैनिक प्रश्न र बदनामी झेलिरहनु परेकाले पत्रकारिताको सबै भन्दा ठुलो क्षमता अफवाह र भ्रम नियन्त्रण गर्ने क्षमतालाई अधिकतम रुपमा प्रकट गर्ने गरी भुमिका खेल्न जोड दिएका छन ।
हरेक सालको नयाँ बर्ष र बडादशै मोफसलको सञ्चार माध्यमका लागि शुभकामना र बिज्ञापन मार्फत स्रोत संकलन गरेर अरु केहि महिना मिडिया चलाउन सहज अवसरको रुपमा प्रयोग गर्ने प्रचलन रहेकोमा अहिले कोरोना संकटको जटिल अवस्था रहेकाले यस कठिन घडिमा जिल्ला स्थित सबै स्थानीय तहलाई मिडिया परिचालनमा बिशेष बजेट बिनियोजन गर्न आग्रह गरिएको छ ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण सम्बन्धि सचेतनामूलक सन्देश र सूचना प्रकाशन र प्रसारण गर्न महासंघ सँग सहकार्य गर्न स्थानीय सरकारलाई आग्रह समेत गरिएको पत्रकार महासंघका सचिव राम थापा अविरलले जानकाकरी दिए । साथै सञ्चार माध्यमको यस बर्षको स्थानीय तहमा तिर्नुपर्ने कर छुट सहित पत्रकारहरुलाई बिशेष राहत प्याकेज ल्याउन समेत अनुरोध गरेको छ ।




