Print

“बागलुङमा दुई संक्रमितबाट स्थानीयमा कोरोना सरेको देखिएन”- जनस्वास्थ्य प्रमुख गुरौ

२५ चैत, पर्वत । बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका दुई व्यक्तिबाट स्थानीयलाई संक्रमण नसरेको जिल्ला जनस्वास्थ्य प्रमुखले बताएका छन् ।

४ चैतमा बेल्जियमबाट फर्किएकी १९ वर्षीया युवतीमा १५ चैतमा र ६५ वर्षीया वृद्धामा २० गते कोरोना संक्रमण भएको पुष्टि भएको भएको थियो । त्यहाँ पनि धनगढीमा जस्तै स्थानीयमा संक्रमण सरेको हुनसक्ने आशंकामा सरकारले संक्रमित व्यक्तिहरुको घर वरपर पनि र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको छ ।

दुबै संक्रमितको कन्ट्याक ट्रेसिङ गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ भने अहिलेसम्म स्थानीय संक्रमणको सम्भवना नरहेको बताए । भन्छन्, ‘दुबै संक्रमितको परिवारका सदस्यहरु र उहाँहरुलाई लिन जाने ज्वाइँको पनि नमुना परीक्षण गर्‍याै‌ं । सबैको रिपोर्ट नेगेभिट आएको छ ।’

१९ वर्षीया युवतीको परिवारका ७ जना र ६६ वर्षीया बृद्धाको परिवारका चार जनाको कोरोना परीक्षण गरिएको थियो । दुबैको परिवारको सदस्यमा नै संक्रमण नदेखिएकाले अहिलेसम्म स्थानीय संक्रमण छैन भन्न सकिने उनले बताए ।

तर दुबै संक्रमितको सम्पर्कमा आएकाहरुको निगरानी भने भइरहेको उनले जानकारी दिए ।

१९ वर्षीया संक्रमितको सम्पर्कमा आएका ३३/३५ जना छन् भने ६५ वर्षीया बृद्धाको सम्पर्कमा निकै कम मानिस आएको पाइएको जनस्वास्थ्य प्रमुख गुरौले बताए ।

जिल्लामा रहेका भारतबाट आएकाहरुको पनि ¥यापिड टेष्ट गर्ने सरकारको तयारी छ ।