२१ चैत, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा राहत वितरण कार्य शुरु भएको छ । कोरोना संक्रमणका कारण समस्यामा परेका विपन्न परिवारका लागि गाउँपालिकाले राहत वितरण कार्यको शुरुवात गरेको हो ।
राहत कार्यको शुरुवात मोदी गाउँपालिका वडा न ६ तिलाहारबाट गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलका अनुसार गाउँपालिकाले एकद्धार नीति मार्फत राहत वितरण कार्यको शुरुवात गरिएको जानकारी दिए । पौडेलले विपन्नताको वर्गिकरण वडा कार्यालयबाट गरिएको र सोहि बमोजीम राहत वितरण कार्यको शुरुवात गरिएको बताए ।
गाउँपालिका प्रवक्ता समेत रहेका मोदी ६ का वडाअध्यक्ष बिमल लामिछानेले गाउँपालिका भरी वितरण हुने राहत कार्यक्रमको शुरुवात तिलाहारबाट गरिएको बताए । उनले तिलाहार भित्रका झण्डै १ सय परिवारका लागि राहत वितरण हुने बताए । विहिबार तिलाहारका ३५ परिवारका लागि राहत वितरण गरी गाउँपालिकाले राहत वितरण कार्यको शुरुवात गरेको हो । गाउँपालिकाले तयार पारेको राहत प्याकेज अन्तर्गतका खाद्यन्न सामाग्री वितरण गरिएको छ । वडा भित्रका न्यून आयश्रोत भएका विपन्न, मजदुर, ज्यामी र गरिब किसानहरु यो राहतबाट लाभान्वित हुने प्रबक्ता तथा वडाअध्यक्ष लामिछानेको भनाई छ । राहत वितरण कार्यमा जिल्ला समन्वय समितिका सदस्य नन्दलाल सुवेदी समेतको उपस्थिती थियो ।
बाँकी वडाहरुमा लगतै राहत वितरण कार्य अघि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए । वडाहरुमा विपन्न वर्गको तथ्यांक संकलन भईरहेको बताउँदै क्षेत्रीले अनुमानित ३ सयको संख्यामा विपन्न परिवार हुनसक्ने अनुमान गरे । उनीहरुका लागि राहत प्याकेजका खाद्यन्नहरु गाउँपालिकाले उपलब्ध गराउनेछ । शुक्रबार मात्रै मोदी १ भुकमा पनि राहत सामाग्री वितरण कार्य गरिएको छ । प्रशासकीय अधिकृत क्षेत्रीका अनुसार भुकमा ३८ परिवारका लागि राहत वितरण कार्य सम्पन्न भएको छ ।
ब्यक्ति र संस्थाहरुले राहत उपलब्ध चाहेमा वडा खाद्य वैंक वा गाउँपालिकाको राहत कोषमा रकम जम्मा गरी राहत कार्यमा सहयोग गर्न यस अघि नै गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाको अनुरोधमा प्रवक्ता लामिछानेले पहल गरी हालसम्म ब्यक्तिगत रुपमा झण्डै सवा लाख भन्दा बढि रकम सहयोग जुटिसेकको छ ।
ब्यक्तिले खाद्यन्न सहयोग गर्न चाहेमा खाद्य वैंकमा खाद्यन्न सहयोग गर्नेछन भने नगद गाउँपालिकाको खातामा जम्मा गर्नसक्नेछन । गाउँपालिकाका ८ वटा वडाहरुमा तथ्यांक संकलन भए लगतै खाद्यन्न सामाग्रीहरु उपलब्ध गराउने तयारी भईरहेको प्रशासकीय अधिकृत क्षेत्रीले जानकारी दिए ।




