१७ चैत, पर्वत । कुश्माका एक ब्यापारीले लक डाउन शुरु भए पछि पसल बन्द गरे । कुश्मामा बस्दै आएका ति ब्यापारी आफ्नो घरमा गए । गाउँको घरमा ५ दिन विताएका उनी छैटौ दिन कुश्मामा देखिए । श्रीमति र छोरी सहित कुश्मामा देखिएका उनले गेट बन्द गरेर घरमा बसेकालाई जिस्काए । ‘मर्ने डरले हेर त घरमै लुकेका ।’ माक्स पनि नलगाइ बजारमा निस्फिक्री घुमेका उनलाई स्थानीयले किन कुश्मा आएको भने प्रश्न गरे । उनले कामले आएको बताएपनि सपरिवार उनी बजारको चहलपहल हेर्न आएका थिए । केहि घण्टा कुश्मा बसेपछि फेरी उनी गाउँ फर्किए ।
कुश्मा देखि गाउँमा बस्ने भनेर मोटरसाइकलमा गाउँघर खुर्कोट गएका एक परिवार भोलीपल्टै कुुश्मामा फर्किए । कुश्मामा बस्नुभन्दा गाउँमा बस्दा सुरक्षित भनेर मोदीको राम्जादेउराली पुगेका अर्का ब्यापारी गाउँमा बस्दा अल्छि लागेको भन्दै लकडाउनको सातौ दिन कुश्मामा फर्किए । उनी पनि मोटरसाइकलमै हिडेका हुन ।
अर्का एक ब्यापारी कुश्मा देखि धाइरिङ आलु खरिद गर्न पुगे । प्रशासनको पास देखाएर उनले आलु खरिद गरेर ल्याए । त्यसको भोलीपल्ट थाहा पाए, जुन घरमा आलु खरिद गरेका थिए ति ब्यक्तिलाई कोरोनाको लक्षण देखिएको रैछ । कुश्मा देखि धाइरिङ जाने परिवारका ४ सदस्यलाई सरकारी क्वारेन्टाइनमा राखिएको छ ।
कुश्मामा बस्नेहरु लकडाउन पछि गाउँको घरमा गए, उनीहरु लकडाउनकै अवधिमा कुश्मा फर्किएका छन । यति मात्र होइन् आफन्तलाई भेट्न, पुजाआजामा सहभागी हुन हिड्नेहरुको संख्या पनि पर्वतमा उल्लेख्य देखिन्छ । बजार असुरक्षित ठानेर गाउँजानेहरु पुनः गाउँ असुरिक्षत ठानेर बजार झरेका छन । एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम रोकिएन ।
जिल्ला प्रशासन कार्यालयका तथ्यांक अनुसार हालसम्म लक डाउन उल्लघन गर्ने ६ जनालाई मुद्धा चलाइएको छ । प्रहरीले लक डाउन उल्लघन गर्ने कुनै पनि सवारी साधनलाई नियन्त्रणमा लिएको औपचारिक जानकारी गराएको छैन । डिमुवा नाकाबाट मात्रै सयौको संख्यामा मानिसहरु ओहोरदोहोर गरीरहेका छन ।
जिल्लामा गत चैत्र १० गते दिउँसो २ बजे देखि लक डाउन छ । नेपाल सरकारले ११ गते देखि लक डाउनको निर्णय गरे पनि पर्वत प्रशासनले त्यसको एक दिन अघि देखि लक डाउनको घोषणा गरेको हो । उल्लघन गर्नेलाई जेल सजायसम्म सरकारले घोषणा गरेको छ । तर, मानिसहरु त्यसको उल्लघन् गरीरहेका छन ।
विदेशबाट आएका संक्रमित हुनसक्ने ठाउँमा पुग्ने र पुनः फर्किएर घरमा आउने चलन नरोकिदा संक्रमणको जोखिम थप बढेको छ । बागलुङमा एक महिलालाई संक्रमण देखिए पछि त्यो संक्रमणको सम्भावना पर्वतमा बढि नै देखिएको हो ।
गाउँ घरका भट्टी पसलहरु साँझ परेपछि भरी भराउ हुन थालेका छन् । विदेशबाट आएकाहरु कोरोनाको बारेमा प्रवचन दिन चौपारीमा मानिस जम्मा पारीरहेको गुनासो स्थानीयले गरीरहेका छन । सातौ दिनसम्म जिल्ला प्रशासन कार्यालयले २ सय भन्दा बढि अत्यावश्यक सवारीको पास वितरण गरेको छ । प्रशासनको तथ्यांकमा ४ सय भन्दा बढि सडक मजदुरहरुलाई उनीहरुको घरसम्म पुराइएको छ । अत्यावश्यक भन्दै सवारी पास लिने र त्यसको दुरुपयोग गर्नेको संख्या पनि देखिन्छ ।
नेपाल सरकारले लक डाउन थप गरी आगामी चैत्र २४ सम्म पुराएको छ । योसंगै बाँकी अवधिमा थप मानिसको आवात जावत रोक्न नसकेको खण्डमा संक्रमण भित्र भित्रै थप फैलने अनुमान गर्न सकिन्छ ।




