Print

पर्वतमा सुरक्षा ब्यवस्था कडा बन्दै, यस्तो छ जिल्लाको पछिल्लो अवस्था

१४ चैत, पर्वत । लक डाउनको आज चौथो दिन पर्वतमा सुरक्षा ब्यवस्था अझ कडा बनाइएको छ । विना काम सडकमा निस्कनेहरु माथि प्रहरीले कडा निगरानी गरेको छ । जिल्ला भित्रने नाकाहरुमा चेकजाँचमा थप कडाई गरिएको सुरक्षा अधिकारीहरुले जनाएका छन ।

लक डाउनका लागि पर्वत सदरमुकाम कुश्मा बजार, पर्वत वेनीबजार, डिमुवा र पातिचौर बजार पूर्ण रुपमा बन्द छन । यसैगरी हुवासको हातेमालो चोक, कार्किनेटा बजार, ज्ञादीको साइकलचोक क्षेत्र, लुंखु बजार पनि लक डाउनका कारण बन्द भएका छन ।

केहि तरकारी र खाद्यन्नका पसलहरु भने आंशिक रुपमा खुल्ला भएको पर्वत उद्योग बाणिज्य संघले जनाएको छ । बन्द भएका औषधि पसलहरुलाई खोल्न जिल्ला सुरक्षा समितिले कडा निर्देशन दिएपछि केहि औषधि पसलहरु भने खुलेका छन । सदरमुकाममा मानिसको बढि चहलपहल हुनसक्ने चोकहरुमा प्रहरी परिचालन गरिएको सुरक्षासम्बद्ध अधिकारीहरुको भनाई छ ।

पर्वतमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले संयुक्त रुपमा गस्ति गरीरहेका छन । शसस्त्र प्रहरी बलको १९ नम्बर गण कुश्मामा रहेका कारण हालका लागि नेपाली सेनालाई परिचालन गर्नुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको भनाई छ ।

छिमेकी जिल्ला बागलुङमा भने यस अघि नै नेपाली सेना परिचालनको निर्णय जिल्ला सुरक्षा समितिले गरीसकेको छ । पर्वत जिल्ला साविक धौलागिरी अञ्चलका ४ जिल्लाको मुख्य नाका भएका कारण पनि यहाँ मानिसको आवात जावत बढि हुन्छ । बागलुङ, म्याग्दी र मुस्ताङ भित्रनेहरु पर्वत हुँदै भित्रने भएका कारण पनि यहाँको सुरक्षा ब्यवस्था थप कडा बनाउन स्थानीयले माग गर्दै आइरहेका छ ।

यसैवीच प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उल्लङघन् गर्ने एक होटल सञ्चालीकालाई प्रहरीले पक्राउ गरेको छ । कुश्मा बजारकी नानु पुन नाम गरेकी युवतीलाई प्रहरी माथि दुब्र्यहार र निषेधाज्ञा उल्लङघन कसुरमा पक्राउ गरी मुद्धा चलाइएको प्रहरी अधिकारीहरुले जनाएका छन ।

विहिबार देखि कोरोना अस्पताल सञ्चालनमा

कोरोना विरामीको उपचारका लागि तयार गरिएको पर्वत कोरोना अस्पताल विहिवार देखि सञ्चालनमा आएको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसमा अस्थायी रुपमा कोराना अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालमा विहिवार नै विदेशबाट संक्रमित किशोरीसंगै फर्केका बागलुङका एक युवा भर्ना भएका छन । उनी केहि दिन देखि कुश्मामा बस्दै आएका थिए । उनलाई प्रहरी प्रशासनले सम्पर्क गरी सुरक्षित तरिकाले अस्पतालको आइशोलेसन वार्डमा बस्न सुल्झाएको थियो । हाल उनको अवस्था सामान्य रहेको चिकित्सकहरुको भनाई छ ।

डिमुवामा हेल्थ डेक्स निरन्तर

लक डाउनका कारण बाहिरी जिल्लाबाट सवारी साधनमा यात्रुहरु नआए पनि मालबहाक गाडीहरुलाई लक्षित गरी मोदी गाउँपालिकाले डिमुवामा हेल्थ डेक्सको स्थापना गरेको छ । डेक्स निरन्तर रुपमा सञ्चालनमा छ । डेक्समा हालसम् झण्डै ३ हजार भन्दा बढिको ज्वरोको जाँच गरीसकेको छ । सवैको अवस्था सामान्य रहेको त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुको भनाई छ ।

विदेशबाट फर्केकाहरु निगरानीमा

कोरोनाको संक्रमण बढेपछि ति देशहरुबाट पर्वत फर्केनेहरुको निगरानी बढाइएको छ । यस कार्यमा स्थानीय पालिकाहरु सक्रिय भएका छन । जिल्ला सुरक्षा समिति तथा विपद् ब्यवस्थापन जिल्ला समितिको निर्देशनमा पालिकाका वडाअध्यक्ष, वडा सदस्यहरुले विदेशबाट नेपाल आउनेहरुको दैनिकीमा निगरानी बढाएको राजनैतिक दलका प्रतिनिधिहरुले दावी गरेका छन ।

केहि वडाहरुले यो अवधिमा विदेशबाट वडामा भित्रनेहरुको नामावली नै सार्वजनिक गरेका छन । ति ब्यक्तिहरु घरमा पनि सुरक्षित बस्न र घरबाहिर ननिस्कन वडाअध्यक्षहरुले अनुरोध गरेका छन । हालम्म फलेवास नगरपालिकामा ६५ जना विहादी गाउँपालिकामा ४५ जना त्यस्ता नागरिकहरु रहेको तथ्यांक सार्वजनिक भएको छ । जलजला गाउँपालिकामा ३२, कु्श्मा नगरपालिकामा ३९ र मोदी गाउँपालिकाम ८ जनालाई आन्तरीक रुपमा ति ब्यक्तिहरुको निगरानी भएको जनाएको छ ।

विदेशबाट फर्कनेको निगरानीको शुरुवात गरेको महाशिलाका १५ जनलाई पनि आफ्ना नागरिकहरुलाई निगरानीमा राखेको जनाएको छ । पैयू गाउँपालिकाले पनि वडाअध्यक्षहरु मार्फत ३५ जना विदेशबाट फर्केकाहरु माथि निगरानी बढाइएको बताएको छ । वडाहरुले माइकिङ, फोन र कटुवाल मार्फत यस्ता सन्देशहरु जारी गरीरहेका छन ।

क्वारेन्टाइन निर्माणको तयारी

विदेशबाट फर्केका संक्रमणको सम्भावना भएकाहरुलाई छुट्टै ब्यवस्थापन गर्नका लागि कुश्मा स्थित शिवालय माविको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न लागिएको छ । प्रशासन संयन्त्र र कुश्मा नगरपालिकाले क्वारेन्टाइन निर्माणको तयारी गरेको हो । संक्रमण पुष्टि भईनसकेका र संक्रमणको सम्भावना भएकाहरुलाई राख्नका लागि यो ब्यवस्था गर्न लागिएको जनप्रतिनिधिहरुले बताएका छन ।