‘नेकपा पर्वतको पार्टी कार्यालय खाली गरेर आइसोलेशन वार्डको स्थापना गरौं’–युवा नेता लामिछाने

२८ फागुन, पर्वत । संसारभर यतिबेला कोरोना भाईरसको आतंक छ । चिनको वुहान प्रान्तबाट शुरु भएको भाइरसले झण्डै ४ हजारको ज्यान लिएको छ भने १ लाख भन्दा बढि यो रोगबाट प्रभावित भईसकेका छन ।

नेपालको सिमा जोडिएको चीनबाट शुरु भएको भाइरसको हालसम्म औषधि पत्ता नलागेका कारण यो रोगले महामारीको रुप लिदै गएको हो । विश्व भर आतंक मच्चाएको कोरोना भाइरस नेपालमा पनि फैलनसक्ने भन्दै यहाँ उच्च शर्तकता अपनाउन राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछाने माग गरेका छन ।

नेकपा पर्वतका सचिवालय सदस्य समेत रहेका युवा नेता लामिछानेले पर्वत जिल्ला अस्पतालको अनुगमन पछि यस्तो धारणा ब्यक्त गरेका हुन । जिल्ला अस्पताल निर्माणधिन अवस्थामा हुँदा त्यहाँ कोठाहरुको अभाव रहेको छ । उपचार कक्षको अभाव हुन नदिन राजनैतिक दलका पार्टी कार्यालय खाली गरेर भएपनि उपचार कक्ष बनाउन लामिछानेले माग गरेका हुन । जिल्ला अस्पतालका ८ वटा भवनहरु भत्काएर अहिले ५० शैयाको आधुनिक अस्पताल निर्माण भईरहेको छ ।

अस्पताल निर्माण कै चरणमा हुँदा कोरोना भाईरस संक्रमित विरामी फेला परे उनीहरुलाई छुट्टै कोठामा राखेर उपचार गर्ने कोठाको अस्पतालमा अभाव छ । लामिछाने भन्छन–‘जनताको सेवाका खातिर नेकपाको पार्टी कार्यालय खाली गरेर भएपनि उपचार कक्ष तयार गर्नुपर्छ ।’

पार्टीका गतिविधिहरु अरु कार्यालयबाट सञ्चालन गर्न माग गर्दै लामिछानेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको पार्टी कार्यालयमा आइसोलेसन वार्ड स्थापना गर्न माग गरेका छन । साविक एमालेको पार्टी कार्यालय खाली गरी पार्टीका गतिविधिहरु साविक माओवादी केन्द्रको कार्यालयबाट सञ्चालन गरी जनताको स्वास्थ्य सेवाको आधारभूत आवश्यकता पुरा गर्न लामिछानेले माग गरेका हुन ।

जिल्ला अस्पतालमा भवन र कोठाको अभाव भएपछि लामिछानेले यस्तो धारणा ब्यक्त गरेका हुन । अस्पतालले हालसम्म पनि आइसोलेसन वार्डको स्थापना गरेको छैन । मंगलबार सांसद पदम गिरी सहितको टोलीले अस्पतालको अनुगमन गरेपछि अस्पतालले ३ वटा मात्रै आइसोलेसन कक्षको स्थापना गर्ने तयारी गरेको छ ।

संक्रमीत विरामी देखिएमा अस्पतालका वार्डहरु थोरै र साँधुरो हुने पछि युवा नेताहरुले पुर्व तयारीमा ब्यवस्थित तरिकाले जुटन् माग गरेका हुन ।
हालसम्म नेपालमा १ जना ब्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमीत विरामी भने उपचार पछि निको भईसकेका छन ।