१२ फागुन, पर्वत । मोदी गाउँपालिकाको चालु आर्थिक बर्षका कुल योजना मध्ये ९० प्रतिशत योजनाको निर्माण कार्यको सम्झौता सम्पन्न भएको छ । आगामी वैशाख महिना भित्रै योजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिकाको कुल योजनाका ९० प्रतिशत योजनाको सम्झौता कार्य सम्पन्न भएको हो ।
गाउँ सभाले विनियोजन गरेका कार्यक्रमहरु र संघ तथा प्रदेश सरकारबाट प्राप्त शसर्त अनुदान तर्फका कार्यक्रमहरुलाई समयमा नै सम्पन्न गर्ने नीति कडाइका साथ लागू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार बर्षातको समयमा गुणस्तरीय काम नहुने भएकाले भौतिक निर्माण तर्फका अधिकांश कामहरु त्यस अघि नै सम्पन्न हुने भएका छन ।
जनप्रतिनिधिहरुले विनियोजन गरेका कार्यक्रमहरुलाई कर्मचारीले इमानदारीकता साथ काम गर्ने हो भने, आर्थिक मसान्त कुर्नुपर्दैन । गाउँपालिकाले विनियोजन गरेको कुल १३४ वटा भौतिक योजना मध्ये ११९ वटा योजनाको सम्झौता कार्य सकिएको छ । ति योजनाहरुको निर्माण कार्य दु्रत गतिमा भईरहेको प्रशासकीय अधिकृत क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार ठूला आयोजनाहरुको बोलपत्र आब्हान गर्ने कार्य पनि सकिएको छ । टेण्डर र ठेक्का मार्फत निर्माण कार्य गर्ने सवै योजनाहरुको बोलपत्र आब्हान सकिएको र अव केहि दिनमै सम्झौता गरी ति योजनाहरुको पनि निर्माण कार्य अघि बढ्ने क्षेत्रीले जानकारी दिए ।
‘गाउँपालिकाले खरिद गर्ने कार्य पनि सकिएको छ ।’ क्षेत्रीले थपे–‘खुल्ला खरिद प्रक्रियाबाट हुने सवै खरिदको कार्य सकिएको छ, अव पूर्वाधार निर्माण र केहि सप्टवयर कार्यक्रमलाई तिव्रता दिइनेछ ।’ स्थानीय सरकार आफ्ना योजनाहरु कार्यान्वयन गर्न स्वतन्त्र रहेको भन्दै उनले योजनाहरुको कार्यान्वयनलाई प्रभावकारी र पारदर्शी बनाउन होडिङ बोर्ड (सुचना पाटी)लाई अनिवार्य गरिएको र अनुमगन निरन्तर गरीएको उनले बताए ।
यस अघि गाउँपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कर्मचारीको आचार संहिता निर्माण गरेको छ । १८ बुँदे आचार संहिता पालनका लागि सवै कर्मचारीको दस्तखत समेत गराएको पालिकाले आचारसंहिता उल्लघन गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । प्रशासकीय अधिकृतको अग्रसरतामा निर्माण भएका १८ बुँदे आचारमा अनिवार्य सरकारी ड्रेस लगाउने, कार्यालयका सामाग्रीहरु ब्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नहुने, रानजैतिक कार्यक्रममा सहभागीता जनाउन नहुने, आर्थिक पारदर्शीता र प्रभावकारीता कायम गर्नुपर्ने, कार्य सम्पादनमा प्रभावित हुने गरी सहयोग वा उपहार लिन नहुने लगाएतका बुँदाहरु रहेका छन । ति बुँदाहरुमा सवै कर्मचारीले दस्तखत गरी अनिर्वाय पालना गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
गाउँपालिकाले गत बर्ष देखि शुरुवात गरेको भवन निर्माणको पहिलो चरणको कार्य पनि सकिएको छ । टेण्डर आब्हान मार्फत निर्माण प्रक्रियामा गएको भवन निर्माण सम्पन्न भएकाले उक्त भवनमा केहि दिनमै विषयगत कार्यालयहरु स्थानान्तरण गरिने क्षेत्रीले जानकारी दिए ।
गाउँपालिकाले आफ्नै जग्गामा पालिकाको भवन बनाउने यो पहिलो गाउँपालिका हो । स्थानीयबासीले जग्गा उपलब्ध गराएपछि गाउँपालिकाले आफ्नो आन्तरीक लगानीमा भवन निर्माण गरेको हो । भवनलाई पूर्णता दिन थप बजेट विनियोजन गरी निर्माण कार्य थप अघि बढाईने गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल बताउँछन । पालिकाको स्थायी संरचना बनाउने कार्यमा पालिका पहिलो भएको अध्यक्ष पौडेलको भनाई छ ।
पालिकाले भौतिक पूर्वाधार तर्फ सडक, सिचाई र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरीरहेको छ भने । अन्य विकास निर्माणका कार्य तर्फ लघु उद्यम, स्वास्थ्य सेवामा नागरिकको पहुँच स्थापीत गर्ने कार्यमा पनि पालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका प्रबक्ता बिमल लामिछाने बताउँछन ।
युवा, महिला, दलित र अल्पसंख्यक जातजातिलाई समेत सेवा दिने गरी गाउँपालिकाले त्यस तर्फ समेत बजेट विनियोजन गरीरहेको लामिछानेको भनाई छ । उनले जनतामुखी शासन पद्धतिको विकास गर्नका लागि पारदर्शी, जवाफदेहि र शुसासनलाई गाउँपालिकाका पहिलो एजेण्डा बनाएको बताए ।
(अर्थ वीट साप्ताहिकमा खबर छ)




