७ फागुन, पर्वत । जिल्लाको जलजला गाउँकार्यपालिकाले विनियोजन गरेका मध्ये २० प्रतिशत योजनाहरुको काम सम्पन्न भईसकेको छ । कुल २ सय ३६ योजना गाउँसभाबाट विनियोजन भएकामा हालसम्म ४९ वटा योजनाको काम सम्पन्न भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । कुल १४ करोड ६७ लाख ७५ हजार रुपैंया बजेट विनियोजन भएकोमा बित्तिय खर्च २६ प्रतिशत भएको अधिकृत शर्माले बताए । शर्माका अनुसार हालसम्म करिब ४ करोड रुपैंया योजनाको कार्यान्वयनमा खर्च भईसकेको छ । उपभोक्ता समिति र निर्माण ब्यवसायीहरुलाई कडाई गरेर योजनाको फरफारक र कार्यान्वयनमा लगिएका कारण खर्च उपलब्धि सन्तोषजनक भएको अधिकृत शर्मले बताए । उनले गाउँ सभाले बजेट विनियोजन गरे लगतै प्रशासनीक रुपमा योजनाको कार्यान्वयनमा कुनै कमजोरी नगरिएको समेत दावी गरे । पारदर्शी र योजनाको सफल कार्यान्वयनमा कर्मचारी प्रशासन योजनाबद्ध ढङगले लागि परेको शर्माको भनाई छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा गाउँसभाबाट विनियोजन गरेका विकास योजनाको कार्यान्वयनलाई तीव्रता दिने र समयमै सक्न सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी लगायतलाई सचेत गराउन थालेपछि गाउँपालिकाले योजनाले गति लिएका हुन । पालिकाभित्र सञ्चालित सडक, सिँचाइ, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधारतर्फका योजना तोकिएको समयभित्रै सक्नेगरी विभिन्न समिति र व्यवसायीलाई सचेत गराउन जनप्रतिनिधि र कर्मचारी खटिएका छन ।
समिति मार्फत काम भइरहेको योजनाको उपभोक्ता समितिलाई सम्बन्धित स्थानमै पुगेर समयमै सक्न सचेत गराइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताए । ‘समितिले काम गर्न समस्या भए त्यसको कारण खोज्नसमेत लागेका छौं,’ मल्लले भने, ‘समयमै काम नसक्दा एकातिर विकासमा पछि पर्ने, अर्को्तिर बजेट फिर्ता हुने र अर्को वर्ष त्यही योजनालाई बजेट नपर्ने हुन्छ ।’ विकासका काम जति छिटो सक्यो उति बजेट बढ्ने भएकोले यो वर्ष सतर्कता अपनाइएको उनले बताए ।
पालिका भित्र ११० बढी योजना कार्यान्वनयको चरणमा छन । पालिकाको योजना शाखाका अनुसार ५० लाख माथिका २, १० देखि ५० लाखसम्मका १५ योजना विनियोजन भएकामा ११ सम्झौता भई १० वटा कार्यान्वयनको चरणमा छन । ठूला योजनामध्ये एउटा सम्पन्न भइसकेको छ । पाँचदेखि १० लाख बजेटसम्मका ३० योजना छन । तीमध्ये २३ वटा योजनाको सम्झौता भएर काम अघि बढेको छ । अरु १९ योजना कार्यान्वयनका लागि सम्झौता भएका छन ।
पाँच लाखसम्मका एक सय ८९ योजना रहेकोमा एक सय ३० भन्दा धेरै योजना सम्झौता गरी कार्यान्वयनको चरणमा छन । तीमध्ये ४४ वटा योजना सम्पन्न भइसकेको अधिकृत शर्माले बताए ।
वडाबाट सिफारिस भएका योजनाको अनुगमन तथा सुपरिवेक्षणको जिम्मा सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । त्यस्तै गाउँसभाबाट विनियोजन भएका योजनाहरूको अनुगमन गर्न अध्यक्ष, उपाध्यक्ष तथा आवश्यकताअनुसार कार्यपालिका सदस्य समेत खट्ने गरेका छन । असारे विकासलाई नियन्त्रण गर्नेगरी योजना कार्यान्वयनलाई अहिलेदेखि प्राथमिकतामा राखेको अध्यक्ष मल्लले बताए । गाउँपालिकाका अधिकृत शर्माले आगामी जेठ मसान्तसम्म सवै योजनाको फरफारक गरीसक्ने योजनाका साथ काम अघि बढेको जानकारी दिए । असार महिनामा कुनै पनि योजनाको फरफारक नगर्ने योजना गाउँपालिकाका रहेको उनी बताउँछन ।




