Print

पर्वत जिल्ला अस्पतालमा मानसिक रोगको पनि उपचार हुने

६ फागुन, पर्वत । जिल्लाको एक मात्र सरकारी अस्पताल पर्वत जिल्ला अस्पतालमा मानसिक रोगको उपचार सेवा शुरु हुने भएको छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार अस्पतालमा मानसिक रोगको विशेषज्ञ सेवा सहितको उपचार सेवा शुरु हुन लागेको हो ।

अस्पतालले गण्डकी मेडिकल कलेजसंग समन्वय गरेर उक्त उपचार सेवा प्रदान गर्न लागेको अध्यक्ष पहाडीले जानकारी दिए । केहि समय अघिसम्म अस्पताल केबल रिफर सेन्टरको रुपमा स्थापीत भए पनि अध्यक्ष पहाडीको पहल कदमीसंगै अस्पतालको ब्यवस्थापन र सेवामा थप विस्तार भएका छन ।

फागुन ७ गते प्रजातन्त्र दिवसका दिन गण्डकी मेडिकल कलेजसंग सम्झौता गरी अस्पतालमा नै मानसिक रोगीहरुको उपचार सेवा प्रदान गरिने कार्यक्रम तय भएको अध्यक्ष पहाडीले जानकारी दिए । १५ शैयाको अस्पतालमा झण्डै ५० शैयाको अस्पतालको सेवा प्रवाह भईरहेको छ ।

पछिल्लो समय दन्त रोगको विशेषज्ञ सेवा थप हुनुका साथै ल्याव र अन्य उपकरणहरुमा समेत सुधार गरी अस्पतालको सेवालाई जतिसक्दो प्रभावकारी बनाउने कार्यमा अस्पताल लागि परेको अस्पतालका अध्यक्ष पहाडी बताउँछन । पछिल्लो समय मानसिक रोगीको संख्या बढ्दै जाँदा, डिप्रेसन र आत्महत्याका श्रृंखलाहरु समेत बढेका छन ।

अस्पतालले यस्तो समस्याको निराकरण गर्नका लागि विशेषज्ञ सेवा सहित मानसिक रोगीहरुको समेत उपचार सेवा शुरु गर्नु अस्पतालको लागि निकै नयाँ कार्य रहेको अध्यक्ष पहाडीको भनाई छ ।