Print

मुख्य सडकहरुको कालोपत्रे योजना : मिलनचोक–धाइरिङ सडकमा कालोपत्रेको काम शुरु

 २० मंसीर, पर्वत । जिल्लाको जलजला गाउँपालिका अन्तर्गत रहेको मिलनचोक देखि धाइरिङसम्मको सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडक कालोपत्रे गर्न लागेको हो । सडक कालोपत्रे कार्यको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले एक कार्यक्रमका वीच शिल्यान्यास गरेका छन ।
१० किलोमिटर लामो सडक कालोपत्रेका लागि यस अघि पूर्वाधार विकास कार्यालयले टेण्डर आब्हान गरेको थियो । कुल २८ करोड १३ लाख ६ हजारको लागतमा उक्त सडक कालोपत्रे गर्ने कार्यको लागि सम्झौता भएको कार्यालयले जनाएको छ । यो सडकको निर्माणका लागि निर्माण कम्पनीले यही मंसिर ६ गते सम्झौता गरेको थियो ।

०७८ मंसिर ५ गतेभित्र कालोपत्रे भइसक्ने गरी सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । शिल्यान्यास कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सीनाले आगामी ४ बर्ष भित्र सवै वडा कार्यालय जाने सडक कालोपत्रे हुने बताए । जनप्रतिनिधिहरु गाउँको विकासमा लागिरहेको बेला गाउँ भने रित्तिदै गएकोमा भने तिमिल्सीनाले दुःख ब्यक्त गरे ।

उनले शहरको विकास हुँदा जनता गाउँमा बस्ने गरेको तर गाउँमा विकास जान थाले पछि जनता शहर झर्न थालेको बताए । गाउँको विकासमा जनताले देखिने गरी काम हुने समय आउँदा पनि जनता भने गाउँ छाडेर शहर र तराई क्षेत्र झर्ने क्रम नरोकिएको तिमिल्सीनाको भनाई छ ।

जलजला गाउँपालिका अन्तर्गत मिलनचोक देखि शालिजा लेकफाँट सडक आरसिआइ मार्फत कालोपत्रे हुने चरणमा रहेको छ । मिलनचोक देखि फड्केढुंगा हुँदै माझफाँट जाने बाटो गाउँपालिका र प्रदेश सरकारले कालोपत्रेको काम अगाडि बढाईरहेको छ । वारीवेनी देखि माझफाँटको सडक पनि संघिय सांसद पदम गिरीको पहलमा कालोपत्रे र स्तरोउन्नतीको काममा अघि बढेको छ ।

उता, वारीवेनी बगरफाँट बासखर्क सडक भूकम्प पुर्ननिर्माण परियोजना अन्तर्गत कालोपत्रेकै चरण छ । गाउँपालिका भित्रका यि सडकहरु कालोपत्रे हुँदा सवै जसो वडा कार्यालयसम्मका सडकहरु कालोपत्रे हुने गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल बताउँछन । पालिका भित्रका सवै मुख्य सडकहरु कालोपत्रेकै चरणमा अघि बढिरहेको मल्लको भनाई छ ।