Print

बलेवा विमानस्थलको धावन मार्ग कालोपत्रेका लागि बजेट विनियोजन

२० कार्तिक, बागलुङ । बागलुङ जिल्लाको वलेवा विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि विमानस्थलको धावनमार्ग कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

२६ वर्ष देखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन आएर नेपाल एरलाईन्स तथा तारा एरलाईन्सले केही महिना उडान भरेपनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ । बागलुङ नगरपालिकाले १४ वडामा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरेपनि कच्ची धावनमार्ग, विमानस्थल संग पुग्ने सडक कालोपत्रे नहुँनु लगायतका समस्याका कारण २६ वर्ष पछि सञ्चालनमा आएको विमानस्थल पुन बन्दभएपछि नागरिक उड्डन प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्रेका लागि पहिलोचरणमा  चार करोड बजेट विनियोजन गरेको बागलुङ क्षेत्र नम्बर एकका प्रतिनिधि सांसद डा। सुर्य पाठकले जानकारी दिनुभयो । सरकारले हालै वलेवा विमानस्थललाई सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बहुवर्षीय योजनामा समावेश गरेर बजेट विनियोजन गरेको पाठकको भनाई रहेको छ ।

‘नागरिक उड्डयन प्राधिकरणले पहिलोचरणमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्नका लागि ठेक्का प्रक्रिया अगाडी बढेको छ’ सांसद पाठकले भन्नुभयो ‘बागलुङ नगरपालिका सहित सरोकारवाला निकायको पहलमा तीन वर्षमा सक्ने गरी पूर्वाधार निर्माण हुन्छ ।’ सांसद पाठकका अनुसार तीन वर्षमा पूर्ण रुपमा विमानस्थल सञ्चालनमा ल्याउने गरी विमानस्थलको धावनमार्ग सहित अन्य पूर्वाधार तयार गर्नेगरी सरकार अगाडि बढेको बताउनुभयो ।

धौलागिरी अञ्चलका बागलुङ, पर्वत र म्याग्दीका जनतालई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि नगरपालिकाले साझेदारी गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘नगरले २६ वर्षपछि बन्दर रहेको विमानस्थल शुचारुका लागि झण्डै ५० लाख लगानी गरिसक्यो केहि समय जहाज पनी चल्यो’ प्रमुख पौडेलले भन्नुभयो ‘आगामी तीन वर्ष भित्रमा विमानस्थल पुग्ने सडक कालोपत्रे, धावनमार्ग निर्माण गर्ने गरी सरकारले योजनामा समावेश गरेको छ ।’

कालिगण्डकी करिडोरसंग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखी जम्मा १२ किलोमिटर सडक कच्ची रहेको छ । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर कालोपत्रे हुनेभने विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुँने सरोकारवालाहरु बताउछन् ।

एक वर्ष अगाडि यात्रु कम हुँदाको रकम बागलुङ नगरपालिकाले सुनिश्चितता गरी हप्तामा दुईदिन नेपाल एरलाइन्स र तारा एयरको टुइनेटर विमानले उडान भरेपनि वर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि बिमानस्थल बन्द भएको थियो ।