Print

पर्वत कांग्रेसका जागरण अभियान, विद्यालयका बन्द कोठामा सिमित, कार्यकर्तामा उत्साह छैन

५ असोज, पर्वत । नेपाली कांग्रेसको देश ब्यापी कार्यक्रम अनुसार पर्वत कांग्रेसले दोस्रो चरणको गाउँ जागरण अभियान सञ्चालन गरीरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चालन गरीरहेको जागरण अभियान भने विद्यालयहरुका बन्द कोठमा सिमित हुन थालेका छन । पहिलो चरणको जागरण अभियानबाट निराशा बटुलेको नेपाली कांग्रेसले दोस्रो चरणको जागरण शसक्त बनाउने अठोट लिए पनि त्यो पनि निराशाउन्मुख भएको स्वय्म कार्यकर्ताहरुको गुनासो रहेको छ । गाउँ जागरणको नाम दिइएको पर्वत कांग्रेसले आप्ना पार्टीका सिमिति कार्यकर्ताहरु माझ छलफल र अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गरीरहेको छ । कांग्रेसले सञ्चालन गरेको अभियान अन्तर्गत महाशिला गाउँपालिका वडा नं ३ बालाकोटस्थित चन्द्रोदय आधारभूत बिद्यालयमा राजनैतिक कार्यक्रम गरेको पाइएको छ ।

दोस्रो चरणको जनजागरण अभियान अन्र्तगत गाउँगाउँमा पुगेको कांग्रेसले बालाकोटस्तरीय कार्यक्रम सोमबार बिद्यालयमा बिद्यार्थीलाई बिदा दिएर सञ्चालन गरेको स्थानिय मोहनबिक्रम पौडेलले बताए । उनले राजनैतिक कार्यक्रम बिद्यालय बन्द गरेर सञ्चालन गरेको खुलासा गरेसंगै स्वय्म कांग्रेस कार्यकर्ताहरुले समेत विरोध गरेका छन ।

बिद्यालयका प्रधानाध्यापक श्याम बहादुर क्षेत्रीले आफुँलाई कार्यक्रम गर्नका लागि अनुमति माग्दा नदिएको तर बिदाको समयमा अन्य शिक्षकले सहमति दिएको बताउँछन । बिद्यालयमा राजनैतिक दलका सभा, बैठक गन नहुने भन्दै चर्को बिरोध भएको छ । उनले २ बजेपछि बालबिकास केन्द्रका बिद्यार्थीलाई बिदा दिएर कार्यक्रम गरिएको बताए । घटनाका सम्बन्धमा जागरण टोलीका नेता तथा नेपाली कांग्रेस जिल्ला सभापति खेम प्रसाद भुसालले ४ बजेपछि मात्र कार्यक्रम भएको दाबी गरे । उनले अन्य दलका कार्यकर्ताले झुटा आरोप लगाएको पनि बताए ।

अनेरास्बियुका क्षेत्रिय अध्यक्ष समेत रहनुभएका मोहनबिक्रम पौडेलले भने १ बजेपछि नै जर्वजस्ती विद्यार्थी निकालिएको दाबी गरे । यस विषयमा अनेरास्ववियू र अनरास्ववियू (क्रान्तिकारी) का जिल्ला नेताहरु विरोध जनाएका छन ।

यस अघि पनि पर्वत क्षेत्र न १ को कार्यक्रम मोदी गाउँपालिकाको तिलाहार स्थित नवजागृत बहुमुखी क्याम्पसको हलमा सञ्चालन गरिएको थियो । खुल्ला र सार्वजनिक स्थलहरुको प्रयोग नगरी शैक्षिक स्थलका बन्द कोठाहरुमा कांग्रेसले सञ्चालन गरीरहेका जागरण अभियानले गाउँका जनता जागरण हुने कुरामा स्वय्म कांग्रेस पनि अलमल देखिन्छ ।

अत्तर छर्केका अतिथि

पर्वत कांग्रेसको ठूलो समस्या नेताहरु गाउँ नबस्ने हो । नेताहरुको पंक्ति पार्टीका कार्यक्रम र निर्वाचनमा मात्र गाउँ फर्कन्छ । जिल्ला भित्र नबस्ने नेताहरुले जिल्लाको विकास हामीले गछौं भनेर गाउँमा गर्ने भाषणबाट स्वय्म कांग्रेस कार्यकर्ताले विश्वास लिने गरेका छैनन । कांग्रेसका पाटीका अधिकांश नेताहरु पार्टीको कार्यक्रममा सुगन्धित अत्तर छर्केर भाषणका लागि गाउँ पस्ने गरेका छन । यसले पार्टीको जागरण अभियान सफल नहुने कार्यकर्ताको आकलन छ ।

कांग्रेससंग प्रश्न दोहोरियो, १८ बर्षमा के गरयौं

गाउँ जागरण अभियान लिएर गाउँ पसेको नेपाली कांग्रेस पर्वतसंग जनताले फेरी प्रश्न दोहोराएका छन । जागरण अभियानको क्रममा खिचेको तस्विर पोष्ट गर्दै पूर्व माननीय तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले गाउँमा विकास दुई तिहाइले गरेन भनेर लेखे पछि उनी प्रति प्रश्न गरिएको छ । सामाजिक सञ्जालमा जोशीले राखेको तस्विरमा अधिकांशले १८ बर्षमा नेपाली कांग्रेसले जिल्लाको विकासमा कुनै भूमिका नखेलेको टिप्पणी गरेका छन । दुई तिहाइ सरकार गठन भएको १ बर्ष मात्र वितेको भन्दै बहुमत सहितको १८ बर्षमा किन विकास नगरेको भनेर प्रश्न गरे । जोशीले कच्चि सडकहरु आफ्नो कार्यकालमा खनेको दावी गर्दैै आइरहे पनि जनताले त्यो कुरा पत्ताउन सकिरहेका छैनन ।

अलमलमा कांग्रेस

गाउँ जागरण अभियानमा गाउँ पसेको नेपाली कांग्रेससंग जनता सामू प्रस्तुत गर्ने कुनै एजेण्डा छैनन । दुई तिहाइ सरकारले ठूला योजनाहरु लागू गर्न खोजीरहेको बेला त्यसको विरोध गर्दा जनताले विश्वास नमान्ने अवस्था छ । पर्वत जिल्लाका अधिकांश सडकहरु कालोपत्रेको चरणमा गै सकेका छन । पक्कि पुल, खानेपानी र सिंचाईको उच्चतम प्रवन्ध मिलाउने गरी पर्वतको विकसको खाका अघि बढेको छ । कांग्रेस एजेण्डा विहिन बन्दै संघिय सरकारलाई गाली गरेर जागरण अभियान सञ्चालन गरीरहेको छ ।

आगामी २० बर्ष कांग्रेसको विकासको योजना के हो ? भन्ने कुरामा कांग्रेस स्पष्ट छैन । अर्को तर्फ कांग्रेस भित्र उठेको धार्मिक बहसले पनि जागरण अभियान अलमलमा परेको छ । केहि नेताहरुले कांग्रेसले अव हिन्दु धर्मको नारा अगाडि सार्नुपर्छ भन्ने माग गरेका छन । केहिले धर्मको नाउँमा राजनीति गर्दा टिकाउ नहुने तर्कमा छन । राजावादी र हिन्दुबादीहरु हावी हुँदै जाँदा कांग्रेसको भविश्य स्वय्म संकट पर्ने केहि कार्यकर्ताहरुको ठहर छ ।

एजेण्डा नहुँदा कार्यकर्तामा अस्थिरता

कांग्रेसले जनतासामू लैजाने स्पष्ट एजेण्डा नहुँदा अहिले कांग्रेस कार्यकर्ताहरु अस्थिर बन्न थालेका छन । सरकारसंग रिस पोख्नका लागि कहिले कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा आन्दोलनमा होमिन्छन । कहिले गायक पशुपति शर्माको गीतको पक्षमा वकालत गर्छन । वर्तमान सरकारको विरोधका लागि कांग्रेस स्वय्मको एजेण्डा नहुँदा जागरण अभियानको मुख्य विषय नै ओझेलमा परेको छ । गाउँवस्तीमा रहेका कांग्रेसका पुराना कार्यकर्ताहरुले मात्र धानिएको कांग्रेससंग नयाँ युवा पिढिलाई पार्टीमा आकर्षण गर्ने कार्य योजना पनि छैन ।

दशै नजिकिदै जाँदा र बर्षातको मौसम सकिदै जाँदा कांग्रेस गाउँ जागरण अभियानको दोस्रो श्रृंखला शुरुवात गरेको हो । Artha bit weekly