Print

मौसम अनुकूल नहुँदा पर्वतमा १५ प्रतिशत धान रोपाई अझै बाँकी

२२ साउन, पर्वत । समयमा बर्षात नहुँदा पर्वतमा धान रोपाईमा समस्या परेको छ । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार पर्वतमा खण्ड बृष्टि हुँदा धान रोपाईमा समस्या परेको हो । साउनको दोस्रो साता वित्दा पनि बर्षात नहुँदा धान रोपाईमा कृषकलाई समस्या परेको छ । दोस्रो सातासम्म गत बर्ष ९५ प्रतिशत धान रोपाई भए पनि यो बर्ष ८५ प्रतिशत भन्दा कम मात्रै धान रोपाई सम्पन्न भएको छ ।

समयमा बर्षात नहुँदा झण्डै १५ प्रतिशत क्षेत्रफलमा अझै पनि धान रोपाई हुन सकिरहेको छैन । मनसुनको शुरुवातमा बर्षात भए पनि धान रोप्ने समय असार पछि पर्वतका जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका र विहादी गाउँपालिकाका कृषकहरु समस्या परेका छन ।

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार अझै पनि १५ प्रतिशत क्षेत्रफलमा रोपाई हुन सकिरहेको छैन । बर्षात नहुँदा धान रोपेका खेतहरुमा समेत ध्वजा फाँटेको छ । यो बर्ष खण्ड बृष्टि भई जिल्लाका सवै स्थानमा पानी नपरेको कार्यालय प्रमुख रेग्मी बताउँछन । जिल्लाका ६१ वडा मध्ये झण्डै ४० वटा वडाहरुमा पानीको समस्या परेको छ ।

निरन्तरको साउने झरी नलाग्दा कृषकहरुले कतिपय जग्गामा अझै पनि धान रोप्न पाएका छैनन भने रोपाई भएको खेतहरुमा सिंचाईको प्रवन्ध हुन सकिरहेको छैन । यसले जिल्ला भर आगामी बर्ष झण्डै २५ प्रतिशत भन्दा बढि धान उत्पादन घट्ने रेग्मीले जानकारी दिए । उनले खोलाका छेउछाउमा मात्रै सिंचाईको प्रवन्ध भएको र बाँकी स्थानमा सिंचाईको उपलब्धता नभएको बताए ।

मुल र आकाशे पानीको भरमा धान रोपाई गर्न बाध्य कृषकहरुलाई ठूलो मर्का परेको रेग्मीको भनाई छ । असारको पूर्वाधमा केहि समय बर्षात भए पनि असारको मध्यभाग पछि साउनको दोस्रो सातासम्म आवश्यक बर्षात भएको छैन ।

यसले जिल्लाको सवैभन्दा बढि जलजला क्षेत्रका किसान पिडित बनेको रेग्मी बताउँछन मोदी र पैयू गाउँपालिकाका केहि वडाहरुमा खोलाको सिचाई उपलब्ध भएको ठाउँमा केहि राहत भए पनि बाँकी सवै गाउँपालिकाका कृषकहरुले यतिबेला समस्या बेहोरेका छन । रेग्मीले साउनको अन्तिम साताको रोपाईले यथेष्ट उत्पादन दिन नसक्ने जानकारी समेत दिए ।

‘गत बर्षको तुलनामा यस बर्ष बर्षात भएको छैन’ रेग्मी भन्छन –‘धान रोपाई अन्तिम चरणमा हुनुपर्नेमा अझै केहि प्रतिशत बाँकी छ, रोपाई भएको जग्गामा सिंचाई छैन ।’ मौसम अनुकूल नरहे उत्पादनमा धेरै प्रतिशत गिरावट आउनसक्ने रेग्मीले प्रक्षेपण गरे ।  अर्थ वीट साप्ताहिकमा खबर छ