१६ साउन, पर्वत । मुलुकी संहिता २०७४ र मुलुकी देवाएनी ऐन २०७४ ले २० बर्ष भन्दा मुनीको उमेरमा गरिने विवाहलाई वाल विवाह भनि परिभाषित गरेको छ । नेपालको कानुनले वालविवाहलाई अपराध ठहर गर्दै त्यस्तो कार्यमा संग्लन्न हुनेलाई कारावास सजाय समेतको ब्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ को विवाह सम्बन्धि कसुरको सजाय निर्धारण दफामा २० बर्ष उमेर नपुगी विवाह गराउनेलाई ३ बर्ष कैद र ३० हजार जरिवानाको प्रावधान राखिएको छ । यस्तो विवाह स्वतः वदर हुने समेत कानूनमा उल्लेख छ ।
तर, नेपाली समाजमा अझै पनि वाल विवाह रोकिएको छैन । वालविवाहको दरमा कमी आए पनि वालविवाह प्रथा अझै पनि नरोकिएको तथ्यांकले देखाउँछ । पर्वत जिल्लाका केहि स्वास्थ्य चौकीहरुमा भएको प्रसुति सेवाको तथ्यांक अध्ययन गर्दा यस्तो आकडा देखिएको हो । ७ वटा स्वास्थ्य चौकीको प्रसुति सेवाको तथ्यांक हेर्दाे ७ वटै स्वास्थ्य चौकीमा वालविवाह भएको तथ्यांक देखिन्छ । स्वास्थ्य चौकीहरुमा प्रसुति सेवा लिन आउनेहरु मध्ये ३१ प्रतिशत उमेर नपुगकाहरु सुत्केरी भएका छन ।
यसैगरी पर्वत जिल्ला अस्पतालको तथ्यांक हेर्दा पनि वालविवाह अझै विकराल रुपमा रहेको देखिन्छ । कुल ४ सय ४६ गर्भवती भएकोमा १ सय ६५ जना कम उमेरका आमाहरुले बच्चा जन्माएका छन । अस्पतालकी निमिक्त मेडिकल सुपरिटेण्डनका डा. सन्तोषी थपलियाका अनुसार झण्डै ३७ प्रतिशत कम उमेरका आमाहरुले बच्चा जन्माएका छन । यो तथ्यांक आर्थिक बषृ २०७५÷०७६ को हो । कम उमेरमा बच्चा जन्माउनेको दर अझै पनि उच्च रहेको थपलियाको भनाई छ ।
पर्वत जिल्लामा रहेको जलजला गाउँपालिका अन्तर्गतको शालीजा र लेकफाँट स्वास्थ्य चौकी, मोदी गाउँपालिकाको चित्रे स्वास्थ्य चौकी, कुश्मा नगरपालिकाको ठुलिपोखरी प्राथमिक स्वास्थ्य केन्द्र, फलेवास नगरपालिकाको लिमिठाना स्वास्थ्य चौकी, विहादी गाउँपालिकाको वहाकी स्वास्थ्य चौकी र पैयू गाउँपालिकाको त्रिवेणी स्वास्थ्य चौकीमा भएका प्रसुति सेवाको तथ्यांक विश्लेषण गर्दा पनि कम उमेरमा सन्तान जन्माउनेको संख्या अधिक देखिन्छ ।
तथ्यांक अनुसार १४ बर्ष उमेर देखिका महिलाहरुले प्रसुति सेवा लिएका छन । सुत्केरी हुने आमाको उमेर १४ हुनु भनेको उनको विवाह १३ बर्षको उमेरमा भएको देखिन्छ । कम उमेरमा आमा बन्नेहरु मध्ये जातको आधारमा भने दलितको संख्या ३७ प्रतिशत देखिन्छ । अन्य जातजातिहरुमा समेत त्यो समस्या विधमान देखिन्छ ।
सवैभन्दा धेरै प्रतिशत विहादी गाउँपालिकाको वहाकीमा देखिन्छ । आर्थिक बर्ष २०७४÷०७५ मा वहाकी स्वास्थ्य चौकीमा कुल प्रसुति सेवा लिएकाहरु मध्ये ४० प्रतिशतको उमेर पुगेकै छैन ।
२० बर्ष भन्दा कम उमेरमा विवाह गर्ने र आमा बन्ने महिलाको संख्या धेरै देखिन्छ । उक्त स्वास्थ्य चौकीमा कुल २० जना आमाहरुले प्रसुति सेवा लिँदा २१ बर्ष भन्दा कम उमेरका ८ जनाले प्रसुति सेवा लिएका छन । जातजातिका आधारमा ति सवै सवै अन्य जातजातिका छन । बढिजसो बाह्मण र क्षति समुदायका कम उमेरका आमाहरुले प्रसुति सेवा लिएका छन । कम उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भए पनि सानै उमेरमा विवाह गर्ने र बच्चा पनि जन्माइहाल्ने परम्पराको अझै पनि अन्त्य भएको छैन ।
बर्ष २०७४/०७५ मा ७ वटा स्वास्थ्य चौकीमा कुल १ सय १२ जनाले प्रसुति सेवा लिएका छन । जस मध्ये ३५ जनाको उमेर २० बर्ष पुगेकै छैन । कानूनत २० बर्ष पुगे पछि विहे गर्नुपर्छ । यसको अर्थ २१ बर्षमा कुनै पनि बयश्क महिला आमा बन्न सक्छिन । स्वास्थ्य चौकीमा भएका प्रसुति सेवाको तथ्यांकले भने २१ बर्ष भन्दा मुनी आमा बन्नेको संख्या ३१ प्रतिशत रहेको देखिन्छ । कम उमेरमा बच्चा जन्माउने आमाहरुको तथ्यांक विश्लेषण गर्दा सरदर जिल्ला भरी झण्डै ३५ प्रतिशत वालविवाह अझै पनि कायम रहेको तथ्यांकका आधारमा उल्लेख गर्न सकिन्छ ।
सवैभन्दा न्यून संख्या जलजलाको शालिजा स्वास्थ्य चौकीमा देखिन्छ । कुल ५ जना प्रसुति सेवा लिने मध्ये १ जनाको कम उमेर देखिन्छ । प्रसुति सेवा लिन आउनेको संख्या कमी भएका कारण पनि त्यो संख्या न्यून भएको भने हुनसक्छ । स्वास्थ्यकर्मीका अनुसार सानो उमेरमा गर्भ रहँदा त्यसले आमा र बच्चा दुवैको स्वास्थ्यलाई असर गर्छ । कतिपय मातृशिशु मृत्यु र बालमृत्युदर पनि सोहि कारण बढिरहेको स्वास्थ्यकर्मीहरुको ठहर छ । विभिन्न संघ संस्था र सरकारी निकायबाट पनि बालविवाह रोक्नका लागि प्रयासहरु भइरहे पनि वालविवाह भने रोकिएको तथ्यांकले देखाउँदैन ।
‘बालविवाहका मुद्धा आउँदैनन’–अधिबक्ता शर्मा
समाजमा बालविवाह रहेको दृटाष्त रहँदे आए पनि बालविवाह सम्बन्धि मुद्धा भने नआउने गरेको पर्वत वार इकाइका अध्यक्ष तथा अधिबक्ता भोलानाथ शर्मा बताउँछन । लामो समय देखि वकालतको क्षेत्रमा काम गर्दै आएका शर्माले कानूनः कम उमेरको विवाह बन्देजपूर्ण भए पनि समाजमा अझै पनि वालविवाह नरोकिएको बताउँछन । छोरा या छोरी १८ बर्षको उमेर पुगेपछि उनीहरु कुलतमा फस्ने र अरु कुनै चारित्रिक दाग लाग्ने भएका कारण पनि विवाह गरिदिने परिपाटि समाजमा विद्यमान रहेको शर्माको भनाई छ । वाल विवाह उजुरी हुँदा साथ स्वतः रद्द हुने भएका कारण पनि विधि पूर्वक गरिएका विवाह प्रहरी र अदालत सामु आइनपुग्ने शर्माले बताए ।
केहि घटनाहरुमा वालयौनदुरब्यवहार र जवरजस्ती करणीका मुद्धा भने अदालतमा दर्ता भएको शर्माले बताए । उनले कम उमेरका युवाले कम उमेरका युवती माथि जवरजस्ती करणी गरेको उजुरीका आधारमा केहि बालकहरु भने पुर्नस्थापना गृहमा रहेको बताए । वालविवाह रोक्न परिवार आफै सचेत हुनुपर्ने अधिबक्ता शर्मा बताउँछन ।
‘प्रजनन स्वास्थ्यमा समस्या आउँछ’–डा थपलिया
कम उमेरमा विवाह गर्ने र सानै उमेरमा बच्चा जन्माउँदा आमाको प्रजनन स्वास्थ्यमा समस्या आउने पर्वत जिल्ला अस्पतालकी प्रमुख डा. सन्तोषी थपलिया बताउँछिन । कम उमेरमा गर्भ रहँदा आमा र बच्चा दुवैलाई जोखिम रहनसक्ने उनको भनाई छ । जिल्ला अस्तालमा हुने प्रसुति सेवा लिन आउनेको संख्या कम उमेरका आमाहरुको उच्च रहेको भन्दै त्यसलाई रोक्न जनचेतना अभिबृद्धि गर्नुपर्ने डाक्टर थपलिया बताउँछिन । अर्थ वीट साप्ताहिकमा प्रकाशित खबर




