Print

२ सय बर्ष पुरानो ठूलिपोखरीको मर्मत कार्य शुरु

१० जेठ, पर्वत । झण्डै २ सय बर्ष पुरानो जिल्लाकै ठूलो ठुलिपोखरीको मर्मत कार्य शुरु गरिएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न १२ मा रहेको ठुलिपोखरीको मर्मत कार्य शुरु गरिएको हो । प्रदेश सरकारबाट २५ लाखको लागतमा पोखरीको मर्मत कार्य शुरु भएको हो । ठुलिपोखरीलाई तालको रुपमा विस्तारित गर्नका लागि मर्मत कार्य शुरु गरिएको हो ।

२ सय बर्ष अघि नै मानव निर्मित पोखरीको मर्मत कार्यको शुरुवात गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले गरेका छन । पोखरीमा लामो समय देखि बर्षातको समयमा बाहेक पानीको मात्रा जम्मा हुन छाडेको छ । मन्त्री लम्सालले पोखरीमा बाह्ै महिना पानी रहनसक्ने गरी पोखरीको निर्माण गरिने घोषणा गरे । कुश्मा १२ का वडाअध्यक्ष राजेन्द्र पौडेलले प्रदेश सरकारसंग सहकार्य गरी पोखरीमा पानी जम्मा गर्ने योजना रहेको बताउँछन ।

पोखरी ७ रोपनी क्षेत्रफलमा फैलिएको छ । पोखरीसंग जनता सुर्देशन माध्यमिक विद्यालय सञ्चालनमा छ । केहि बर्ष अघिसम्म पोखरीमा पानी जम्मा हुने गर्दथ्थो । स्थानीयबासी तथा पत्रकार गणेश पौडेल भन्छन–‘एतिहासिक पोखरीलाई सोहि स्वरुपमा संरक्षण गर्नुपर्छ ।’ मानव निर्मित पोखरीलाई संरक्षण गरी त्यसको महत्वलाई यथावत राख्नुपर्ने पौडेलको भनाई छ । पोखरीमा पञ्चासेबाट पानी ल्याएर पर्यटकीय विकास गर्ने गरी काम भईरहको पोखरी मर्मत समितिका अध्यक्ष ढाकाराम सापकोटा बताउँछन । उनले पोखरीमा पानी जम्मा हुँदा बहुउद्देश्य काम गर्न सकिने तर्क गरे ।

पोखरीको मर्मत कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जुनादेवी नेपाली, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, नेकपा गण्डकी प्रदेशका सदस्य मेघनाथ सुवेदी, केशव कुवँर, कुश्मा नगरपालिका वडा नं १२ का वडाध्यक्ष राजेन्द्र पौडेल, पर्वत जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी, नेपाली कांग्रेसका कुमार सुवेदी, समृद्ध ठुलीपोखरी यूवा क्लवका अध्यक्ष प्रकाश गदाल लगायतले पोखरीको महत्वका विषयमा धारणा राखेका थिए । पोखरी मर्मत कार्यक्रमको अध्यक्षता ढाकाराम सापकोटा, स्वागत युगनाथ पौडेल र संचालन बाबुराम पौडेलले गरेका थिए ।