Print

पर्वतमा असिनाबाट कृषिबालीमा ठूलो क्षति, क्षतिपूर्तिको ब्यवस्था गर्ने सांसद गिरीको प्रतिबद्धता

९ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका र मोदी गाउँपालिका लगायत विभिन्न स्थानमा आज दिउँसो परेको हावाहुरी सहितको असिना पानीले कृषकहरुले लगाएको विभिन्न कृषि बाली र कृषि जन्य भौतिक संरचनाहरुमा व्यापक क्षति पु¥याएको छ ।

असिना पानीले पुर्ण रुपमा कृषि बालीहरुमा क्षति पुर्याए पछि पर्वतका कृषकहरु पिडामा परेका छन । किसानले लगाएको मकैवाली, गहुँ, तरकारी काँक्रो, घिरौला, फर्सी, करेल, लौका, वोडी, गोलभेँडा विरुवा नष्ट गर्नुको साथै असिना पानीले लिची, सुन्तला, आरु, मेवा आप, लगायतका फूल तथा फलहरु झारेर नष्ट गरेको र आधुनिक ग्रिन हाउस टनेलमा पनि क्षति गरेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए ।

क्षतिको विवरण पुर्ण रुपले नआएको र थप क्षतिको विवरणको लागि सवै स्थानीय तहलाई रिर्पोटिङको लागि आग्रह गर्दै यस परिस्थितमा कृषि विमा को पुर्ण कार्यान्वयको थप महसुस भएको भन्दै यस विपत्तिको बारेमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पोखरामा जानकारी गराएको प्रमुख रेग्मीले बताए ।

उता, प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले असिनाबाट भएको क्षतिप्रति दुःख ब्यक्त गरेका छन । सांसद गिरीले सामाजिक सञ्जालमा टुइट गर्दै कृषि बालीहरु र भौतिक संरचनामा ब्यापक क्षति पुराएको भन्दै उचि क्षतिपूर्तिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन । सांसद गिरीले कृषकलाई उचित क्षतिपूर्तिको ब्यवस्थाको लागि आफूले समेत पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।