Print

पाङ–टार–ततरकोट–बनौ सडक कालोपत्रेको सांसद गिरीद्धारा शुभारम्भ

४ वैशाख, पर्वत । जिल्लाका वडाहरु मध्ये धेरै जनसंख्या र मतदाता रहेको कुश्मा नगरपालिका वडा न १ पाङ हो । २०७४ सालको निर्वाचनको पहिलो मतगणना कुश्मा नगरपालिका १ बाट भएको थियो । प्रतिनिधि सभाको मतगणना कुश्मा १ बाट हुँदा आम चासो र जिज्ञासको विषय बनेको थियो, मतपरिणामको । प्रतिनिधि सभाको निर्वाचनका प्रतिस्पर्धी तत्कालीन नेकपा (एमाले)का उमेदवार युवा नेता पदम गिरीले प्रतिद्धन्द्धी भन्दा झण्डै ४ सय ५० मत बढि ल्याए । मत विश्लेषणको हिसाबले लोकतान्त्रिक शक्ति नेपाली कांग्रेसको शक्ति निकै बलियो मानिने कुश्मा नगरपालिका वडा न १ पाङमा कम्युनिष्टका उमेदवारले बढि मत ल्याउनुलाइ धेरै अर्थमा विश्लेषण गरियो ।

कुश्मा १ पाङको अत्याधिक मत पाएका प्रतिनिधि सभाका उमेदवार सांसद पदम गिरीले बुधवार एक कार्यक्रमका वीच उक्त गाउँको महत्वपूर्ण सडक कालोपत्रेको शुभारम्भ गरेका छन । विगत लामो समय देखि नेपाली कांग्रेसलाई मतदान गर्दै आएका स्थानीयले लामो समय पछि कम्युनिष्ट सांसदलाई अत्याधिक मतदान गरे । सांसद गिरीले कालोपत्रेको शुभारम्भ गर्दै भने–‘सवै पार्टीका आस्थावान कार्यकर्ताले मलाई दिएको मतको म हार्दिक सम्मान गर्छु ।’ गिरीले निर्वाचन पूर्व कुनै पार्टीको नेता भएपनि निर्वाचन पछि आफू सवैको साझा ब्यक्ति भएकाले सवै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गाउँको विकास र परिर्वतनका लागि पाङबासीले आफूलाई दिएको मतको सम्मान गर्दै यो क्षेत्रको विकासमा आफूले दिनरात मेहनत गरीरहेको उल्लेख गरे । सह्रसधारा देखि पाङको कुनाचौरसम्मको केहि खण्ड सडक कालोपत्रे भएपनि पाङको कुना चौर देखि टार–ततरकोट देखि बनौसम्मको सडक कच्चि छ । उक्त सडक कालोपत्रेका लागि सांसद गिरीको पहलमा प्रदेश सरकारले चालु बर्षमा १ करोड र केन्द्रिय सरकारले चालु बर्षमा ३ करोड गरी कुल ४ करोड रकम विनियोजन गरेको छ । सांसद गिरीले रकम अपुग हुँदा सडक कालोपत्रेका लागि थप रकम जुटाउन आफूले अझै धेरै प्रयास गर्ने कार्यक्रमको अवसरमा प्रतिबद्धता ब्यक्त गरे ।

सडक कालोपत्रेको शुभारम्भ कार्यक्रकमा कुश्मा नगरपालिका वडा न १ पाङका वडा अध्यक्ष देवेन्द्र सुवेदीले सांसदको पहल र मेहनतको फल पाङबासीले केहि बर्षमै प्राप्त गर्ने विश्वास ब्यक्त गरे । उनले पाङ क्षेत्रको विकासका लागि सांसदले गरेको पहल र प्रयासको सवै पाङबासीले प्रशंसा गरेको समेत बताए । सडकको झण्डै ३ किलोमिटर सडक चालु आर्थिक बर्षमा नै पक्कि बनाउने गरी काम भइरहेको छ ।