Print

मोदी गाउँपालिकाले मनायो विविध कार्यक्रम सहित कार्यालयको स्थापना दिवस

४ चैत, पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निमार्णाधिन योजना समयमा सम्पन्न गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
पर्वतको मोदी गाउँपालिकाको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले बजेट विनियोजन गरेका योजना समयमा सम्पन्न नहुँदा विकास निमार्णमा समस्या भएको बताउनुभएको हो ।
‘विकास निमार्णलाई पहिलो प्रथामिकता राखेर सरकारले साना–ठूला थुप्रै योजनालाई बजेट विनियोजन गरेको छ,’ उहाँले भन्नुभयो, ‘तर, समावेश योजना र बजेटको काम समयमा सुरु नहुने र निमार्णाधिन योजना पनि समयमा सम्पन्न नहुँदा राष्ट्रलाई ठूलो नोक्सान भएको छ ।’
अध्यक्ष तिमिल्सिनाले योजना समावेश गर्नु मात्रै ठूलो विषय नभएको बताउँदै समयमा सम्पन्न गराउन तथा गुणस्तरीय बनाउन सरकारी संयन्त्र र स्थानीय उपभोक्ता बढी सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले सडक, पुल, पर्यटन पूर्वाधारलगायत क्षेत्रमा थुप्रै बजेट विनियोजन भएपनि काम हुन नसक्नु मुख्य समस्या भएको बताउनुभयो ।
‘योजना समयमा सम्पन्न तथा गुणस्तरीय नहुनुको कारण पहिचान गर्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘नीतिगत रुपमा परिमार्जन गर्न जरुरी भए त्यसमा पनि सरकारले ध्यान दिनुपर्छ ।’
उहाँले पर्वत जिल्लामा पनि राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गलगायत थुप्रै साना–ठूला योजनाको काम भइरहेको बताउँदै त्यसको गुणस्तरमा स्थानीय जनप्रतिनिधि, प्रशासन र उपभोक्ताले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सरकारले जनतालाई उद्यमशीलताको विकासका लागि पर्यटन, होमस्टे, कृषि, पशुपलान लगायत विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको बताउँदै त्यसको सही सदुपयोग हुनुपर्ने धारणा अध्यक्ष तिमिल्सिनाले राख्नुभयो । ‘विकासका पूर्वाधारलाई जनताको जीवनस्तर सुधार गर्न प्रयोग गर्नुपर्छ, अनि मात्रै देश समृद्ध बन्न सक्छ,’ उहाँले भन्नुभयो ।
सो अवसरमा उहाँले पर्वतको मोदी गाउँपालिकामा पञ्चासे, भमरकोट, हम्पाल लेक लगायत थुप्रै पर्यटकीय गन्तव्य रहेकाले ती ठाउँमा पूर्वाधार विकास तथा प्रचार गरी व्यवसायीक रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य जुनादेवी नेपाली, ललितकला गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले कार्यालय स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका थिए । स्थापन दिवसको अवसरमा मोदी गाउँपालिकाले निर्माण गरेको सभा हलको समेत उद्घाटन गरिएको छ । अध्यक्ष तिमिल्सीनाले हलको समेत उद्घाटन गरेका हुन ।
सोहि अवसरमा उत्कृष्टता हासिल गरेका गाउँपालिका भित्रका विभिन्न विधाका ब्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा गत १ बर्षको अवधिमा भएका उपलिब्धहरुको बारेमा गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले प्रस्तुती गरेका थिए । उनले आर्थिक तथा भौतिक उपलब्धि कार्यक्रममा प्रस्तुत गरेका हुन ।
गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सञ्चालन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ र स्वागत मन्तब्य उपाध्यक्ष सेती महतले गरेकी थिइन ।