Print

सांसद गिरीद्धारा कुश्मा–दुुर्लुङ–क्याङ सडक कालोपत्रेको शुभारम्भ

 १ चैत्र, पर्वत । आफ्नो गृह वडा पुग्ने कुश्मा–दुर्लुङ क्याङ सडकको सांसद पदम गिरीले शुभारम्भ गरेका छन । जिल्लाका मुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता लिएर निर्वाचनमा अत्याधिक मतान्तरले विजयी भएका सांसद गिरीले कुश्मा देखि दुर्लुङ हुँदै क्याङ पुग्ने सडक आफ्नो कार्यकालमा निर्माण गरेर छाड्ने प्रतिबद्धता दोहोराउँदै कालोपत्रेको शुभारम्भ गरेका हुन । सांसद गिरीको पहलमा उक्त सडक कालोपत्रे गर्ने गरी योजना निर्माण भएको हो ।

उक्त सडक कालोपत्रे गर्नका लागि यस अघि सांसद गिरीले केन्द्रिय रणनैतिक सडकमा कुश्मा दुर्लुङ हँुदै क्याङ सडक समावेश गरेका थिए । यसैगरी प्रदेश सरकारबाट समेत सडक पक्कि बनाउन बजेट विनियोजन गरेसंगै चालु आर्थिक बर्ष देखि नै उक्त सडकको निर्माण कार्य शुरु गर्ने गरी काम अगाडि बढेको हो ।

चालु आर्थिक बर्षमा झण्डै साढे ३ करोडको लगानीमा सडक कालोपत्रे हुन लागेको हो । बहुबर्षिक योजना अनुसार आगामी बर्षमा पनि बजेट थप गरी आगामी ३ बर्ष भित्र सडकको सम्पूर्ण खण्ड कालोपत्रे गर्ने योजना रहेको सांसद गिरीले जानकारी दिए ।

शुभारम्भ कार्यक्रममा बोल्दै सांसद गिरीले सवै राजनैतिक दल, सवै नेता र जनप्रतिनिधिहरुको सहभागीतामा विकास निर्माणका योजनाहरु सम्भव भएको भन्दै सम्बृद्धिको यात्रामा सवै जना लाग्नुपर्ने धारणा राखे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास लामिछाने, नेकपा नेताहरु मेघनाथ सुवेदी, गोविन्द पहाडी लगाएतले यात्रा सहजताका लागि कालोपत्रेको जरुरी रहेको औल्याए ।

कुश्मा नगरपालिका वडा न ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कुश्मा ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले गरेका थिए ।