२९ फागुन, पर्वत । जिल्लाको महत्वपूर्ण सडक खण्ड कुश्मा–दुर्लुङ–क्याङ सडक कालोपत्रे हुने भएको छ । सडकको प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले आगामी चैत्र १ गते शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।
जिल्लाका मुख्य मुख्य सडकहरु आफ्नो कार्यकाल भरी कालोपत्रे गर्ने प्रतिबद्धता लिएर निर्वाचनमा विजयी भएका सांसद गिरीको पहलमा उक्त सडक कालोपत्रे गर्ने गरी योजना निर्माण भएको हो । सांसद गिरीको आफ्नो गृह वडा समेत रहेको दुर्लुङ पुग्नका लागि कुश्मा देखि झण्डै १० किलोमिटर सडक खण्ड पर्दछ ।
उक्त सडक कालोपत्रे गर्नका लागि यस अघि सांसद गिरीले केन्द्रिय रणनैतिक सडकमा कुश्मा दुर्लुङ हँुदै क्याङ सडक समावेश गरेका थिए । यसैगरी प्रदेश सरकारबाट समेत सडक पक्कि बनाउन बजेट विनियोजन गरेसंगै चालु आर्थिक बर्ष देखि नै उक्त सडकको निर्माण कार्य शुरु गर्ने गरी काम अगाडि बढेको हो ।
पूर्वाधार विकास कार्यालय पर्वतले उक्त सडक खण्डमा कालोपत्रे गर्नका लागि चालु आर्थिक बर्षमा झण्डै १ करोड २० लाख रुपैंयाको टेण्डर आब्हान गरी ठेक्का सम्झौता गरीसकेको छ । उता, संघिय सरकारबो १ करोड रुपैंया समेत चालु आर्थिक बर्षमा बजेट विनियोजन भएको सांसद गिरीले जानकारी दिए । चालु आर्थिक बर्षमा झण्डै २ करोड २० लाख लागतको काम सम्पन्न हुने गिरीको भनाई छ ।
बजेट समयमै सकिएको खण्डमा चालु आर्थिक बर्षमा नै रकम थप्ने गरी तयारी भईरहेको छ । सडकको झण्डै १५ किलोमिटर खण्डलाई कालोपत्रे गर्ने गरी बहुबर्षिय योजनामा सडकको निर्माण कार्य अगाडि बढाईने भएको छ । सडक कच्चि हुँदा हाल कुश्मा देखि दुर्लुङसम्मको यात्रा निकै कष्ठकर हुँदै आएको छ । आफ्नो ५ बर्षे कार्यकालमा सडक कालोपत्रे गर्ने गरी निर्वाचनमा गरेको प्रतिबद्धता जसरी पनि पुरा गरेरै छाड्ने प्रतिबद्धता अनुसार आफू लागि परेका सासद गिरीले बताए ।




