२७ फागुन, पर्वत । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिएपि) कार्यक्रम अन्तर्गत कालोपत्रे गर्न पर्वत जिल्लाका ७ वटा सडक छनौट भएका छन ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको उक्त कार्यक्रमले जिल्लाका ७ वटा सडकलाई क्रमशः कालोपत्रे गर्दै जाने गरी छनौट गरेको हो । यस अघि गण्डकी प्रदेशमा भएको प्रदेश स्तरीय गोष्ठिबाट छनौट भएका सडक मध्ये पर्वत जिल्लामा ७ वटा सडक कालोपत्रे गर्ने गरी संघिय सरकारले छनौट गरेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले सडक कालोपत्रेका लागि छनौट भएको बताउँदैै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि निर्माण कार्य शुरु हुने जानकारी दिए ।
कार्यक्रम अन्तर्गत जैमुनिघाट–खानिगाउँ–खलडाँडाँ हुँदै कार्कीनेटा सडकको कुल १५ किलोमिटर, देवीस्थान (ओखले)–लमाए–लिमिठाना –ठानामौला–बेतनी–थापाठाना सडक खण्डको कुल १५ किलोमिटर सडक तथा मिलनचोक –रातामाटा– सालिजा सडकको कुल १८ किलोमिटर सडक कालोपत्रे हुनेछ । यसैगरी कार्यक्रम अन्तर्गत पातिचौर–बाजुङ्ग–क्याङ–नागी सडकको १८ किलोमिटर, रतिखोला–चित्रे–भदौरे सडकको कुल १९ किलोमिटर सडक, दोबिल्ला–पकुवा–गंगटे–आर्थर सडकको कुल १५ किलोमिटर सडक तथा त्रिवेणी–टकलाक–सिगरकोस सडकको पनि कालोपत्रे हुने भएको छ ।
गण्डकी प्रदेश भित्रका कुल ४ सय २५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना अन्तर्गत पर्वत जिल्लामा ७ वटा सडक छनौट भएको हुन । प्रदेशका ११ वटा जिल्लाका छनौट गर्दा पर्वत जिल्लामा उल्लेखित सडकहरु छनौट भएका हुन । प्रदेश भरी कुल ३५ वटा सडक छनौट भएका छन ।
संघिय सरकारले प्रदेशबाट छनौट भएका सडकहरुलाई स्विकृत गरेपछि सडक निर्माणको प्रक्रिया शुरुवात भएको प्रतितिधि सभाका सदस्य सांसद पदम गिरीले जानकारी दिए । गिरीले जिल्लाका सवै मुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता निकट भविश्यमा नै पुरा गर्ने संकल्प दोहेराउँदै सवैको प्रयास र पलहमा यी सडकहरु छनौट भएको बताए ।
सडक खनेर पनि लामो समयसम्म सडक कालोपत्रे नहुँदा जिल्ला ग्रामीण क्षेत्रहरुको यात्रा कठिन बन्दै आइरहेको छ । हाल दोविल्ला देखि फलेवास हुँदै लुंखसम्मको सडकमा कालोपत्रे भईरहेको छ भने मोदीको पातिचौर देखि देउपुर हुँदै भुक जाने सडक पनि कालोपत्रे कै चरणमा छ । दक्षिणीको चिसापानी हुँदै हुवासबाट विहादी जोड्ने सडक पनि कालोपत्रेको चरणमा गईसकेको छ।
बाँसखर्कलाई वेनीसम्म जोेड्ने वारीवेनी–वगरफाँट–बाँसखर्क सडकमा पनि कालोपत्रेको काम शुरु भएको छ । कालोपत्रेको चरणमा रहेर बजेट अभावमा भने केहि सडकहरु रोकिएका छन । रोकिएका सडकहरुमा बजेटको ब्यवस्थापन गरी कालोपत्रेलाई शुरुवात गराउने यस अघि पनि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीना र सांसद गिरीले प्रतिबद्धता जनाउँदै आइरहेका छन ।
हाल छनौट भएका ७ वटा सडकहरुको पहिलो चरणमा डिपिआर तयार हुनेछ । डिपिआर बमोजीमको लागत स्टिमेटमा एसियाली विकास वैंक (एडिवि)को सहयोग जुटेपछि सडक कालोपत्रेको चरणमा जानेछन । एडिविको कुल २ हजार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य बमोजिम गण्डकी प्रदेशमा कुल ४ सय २५ किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।




