Print

निर्वाचन र आन्दोलनमा मात्र देखिने पर्वत कांग्रेसका नेताहरु आन्दोलनमा यसरी देखिए

२१ माघ, पर्वत । सरकार विरुद्धमा सडकमा प्रदर्शन गर्ने गरी केन्द्रिय कमिटिले निर्देशन गरेपछि जिल्लामा कमै देखिने नेताहरु आज जिल्लाको सदरमुकाम कुश्मा बजारमा आइपुगे । निर्वाचन र आन्दोलनको बेलामा मात्र सदरमुकाम वरीपरी घुम्ने नेपाली कांग्रेस पर्वतका नेताहरु आन्दोलनकै मौका छोपेर सदरमुकाम कुश्मा बजारमा आयोजीत विरोध सभामा देखिए । निर्वाचन र आन्दोलनको दिनमा मात्रै जिल्लामा भित्रने नेताहरुको संख्या नेपाली कांग्रेस पर्वतमा धेरै ठूलो छ । अरु बेला राजधानी र अरु नीजि काममा ब्यस्त हुने नेताहरु आन्दोलनको मौका छोपेर झण्डा समात्ने र फोटो खिच्नकै लागि भएपनि कुश्मामा आयोजीत सडक जुलुसमा निस्किएका थिए ।
पार्टी अध्यक्ष खिमप्रसाद भुषाल जिल्लामै वस्ने नेता हुन । तर पछिल्लो समय स्वाथ्य समस्याका कारण उनले पनि पार्टीका सवै गतिविधिहरुमा लामो समय समय दिन सकिरहेका छैनन ।

पार्टी सचिव विश्वप्रकास प्रसाई गैससकर्मी हुन । उनी आफ्नो संस्थाका गतिविधिहरुमा सक्रिय छन । पोखरामा मुख्य कार्यक्षेत्र बनाएका प्रसाई दैनिकजसो एनजिओकै कार्यक्रमका ब्यस्त हुन्छन । उनले दैनिक सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्विरहरुले पनि यो कुराको प्रमाणित गर्छ । उनी मोदी गाउँपालिकामा अध्यक्ष पदमा अत्याधिक मतान्तरले पराजय भोगेपछि अझैबढि गैससकै काममा ब्यस्त देखिएका छन ।

अर्का मनोनित सचिव युक्त श्रेष्ठको बसाई परिवार सहित राजधानी काठमाण्डौंमा छ । उनी पनि जिल्लामा पार्टीका जिल्लास्तरीय कार्यक्रमहरुमा बाहेक देखिदैनन । संगठनका गतिविधिहरु, जिल्ला र नगर स्तरीय कार्यक्रमहरुमा उनको सहभागीता देखिदैन । २/४ दिन जिल्लाको सदरमुकाममा देखिने श्रेष्ठ पनि ब्यक्तिगत कामकै लागि जिल्लाबाहिर ब्यस्त हुन्छन ।

पर्वत क्षेत्र न २ बाट प्रदेश सभामा उमेदवार बनेका राजेन्द्र तिवारीलाई जिल्लाबासीले गतिलो गरी चिन्ने अवसर नै पाएका छैनन । उनी क्षेत्र न २ मा प्रदेश सभामा उमेदवार बनेर पराजीत बनेका थिए । महाधिवेशन प्रतिनिधि तिवारी जिल्लामा निर्वाचन र केहि आन्दोलनहरुमा मात्र देखिन्छन । वडा, पालिका स्तरीय गतिविधिहरुमा सहभागी हुने संगठन सुढृदिकरणमा लाग्ने काममा उनको भूमिका न्यून छ । उनी पनि आजको आन्दोलनमा सदरमुकाममा देखिए ।

नाग्लीवाङ घर भएका पार्टि उपसभापती दुर्गाबहादुर खत्री अक्कलझुक्कल पार्टि कार्यालयमा देखिन्छन् । कोषाध्यक्ष यामबहादुर मल्ल जलजलाको अध्यक्ष भएपछि पार्टिको राजनीतिमा उनको खासै ध्यान छैन् । महासमिति सदस्य वसन्तबहादुर सिके जिल्ला सदस्यहरु कुलप्रसाद उपाध्याय, चुडामणी शर्मा र सरस्वती शर्मा सदरमुकाममै घर भएकाले पार्टि कार्यालयमा भेटिने मध्येमा पर्छन् ।

रामचन्द्र जोशी र सिता काफ्ले लामिछाने कुश्मा नगरपाािलकाको प्रमुख र उपप्रमुख भएपछि पार्टिका गतिविधिमा भन्दा नगरपालिकाकै काममा ब्यस्त देखिन्छन ।  महासमिति सदस्य गंगाधर तिवारी फलेवास नगरपालीकाको चुनावमा पाराजित भएपछि आफ्नै ठेक्कापट्टाको धन्दामा व्यस्त छन् । पूर्व सभापती नवराज गुरुङ पार्टिका कार्यक्रमहरुमा हतारमा पुग्छन आफ्नो भाषण सकेपछि निस्कन्छन् ।

खगेन्द्रप्रसाद तिवारी पैयूँ गाउँपालिकाको अध्यक्ष भएकाले सदरमुकाममा खासै आउँदैनन् । ऋषिकेश तिवारी पनि काठमाण्डौँमै बसेर जिल्लाको राजनीति गर्छन् । महासमिति सदस्य राधा कुँवर क्षेत्रीको सक्रियता अल्लि बढि देखिन्छ भने मिना केसी, रेखा गुरुङ, जितबहादुर नेपाली, हरि न्यौपाने, क्याप्टेन धनबहादुर थापा पार्टिका गतिविधीमा त्यति धेरै क्रियाशिल भएको देखिँदैन् ।

क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति रहेका गंगाधर पौडेल स्थानीय चुनाव ताका सडकबाटै राजीनामा दिएपछि बेपत्ता जस्तै छन् । क्षेत्र नम्बर २ का सचिव सुमन तिवारी एकताका गाउँ गाउँमा पुग्थे । तिवारी काठमाण्डौ छिरेपछि जिल्ला फर्र्किएका छैनन् ।

महाधिवेशन प्रतिनिधि मुना भुषाल तरुण दलका केन्द्रिय कार्यक्रमहरुमा ब्यस्त हुन्छिन । जिल्लाका संगठनका गतिविधिहरुमा पनि उनको उपस्थिति देखिदैन । उता, तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ पनि केन्द्रिय कमिटिका गतिविधिहरुमा देशभर सक्रिय छन । तर जिल्लाका काममा समय दिएका छैनन । यसैगरी समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी ललितकला गुरुङ पनि केन्द्रिय राजनीतिकै वरीपरि छिन । गण्डकी प्रदेश की सदस्य गुरुङ जिल्लाका केहि औपचारिक कार्यक्रमहरु बाहेक संगठनका वडास्तरीय कार्यक्रममा विरलै मात्र उपस्थिती जनाउँछिन ।

जिल्लामा नेपाली काग्रेसले पछिल्ला निर्वाचनहरुमा ठूलो हार वेहोरेको छ । स्थानीय तहमा दुई तिहाई तह कम्युनिष्टमय बनेको छ । उता, प्रदेश र संघका निर्वाचनहरुमा कम्युनिष्टको एकछत्र विजय भएको छ । यो बेला संगठनको काम र स्थानीय तहरुका गतिविधिहरुमा निगरानी बढाउनुपर्ने कांग्रेस आफ्ना नेताहरुलाई जिल्लामा पाउँदामा गर्भ गर्नुपर्ने अवस्थामा पुगेको छ । पार्टि पंक्ति चुनावमा हार भएपछि सदरमुकामबाट गाउँ फर्किएको छैन् । गाउँका कार्यकर्ताहरु नेताहरुको साथ खोजिरहन्छन् । सदरमुकाममा मात्रै कहिलेकाँहि भेटिने नेताको भाषण सुनेर कार्यकर्ताहरु गाउँ फर्किन्छन् । काँग्रेसको राजनीति धरासायी बन्ने यस्ता कारणहरुको खोजी गरेर सुध्रर्ने भन्दा आरोप प्रत्यारोपमा केन्द्रित भएकोले पार्टिको आन्तरिक संगठन कमजोर भएको विश्लेषण हुन थालेको छ ।

कंग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद अर्जुन जोशीको बढिजसो बसाई पनि राजधानी केन्द्रित छ । जिल्लामा आएको बेला उनी भने संगठनका साना मसिना कामहरुमा पनि वडा तहमा पुग्ने गरेका छन । पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा जोशीले पनि पराजय भोगेका थिए ।

प्रतिनिधि सभाका सदस्य लालकाजी गुरुङ समानुपाति कोटाबाट सांसद बनेका हुन । उनी कांग्रेसका पूर्व जिल्ला सभापति समेत हुन । तर उनको उपस्थिती जिल्लामा नगन्य मात्रामा देखिन्छ । कुनैपनि औपचारिक कार्यक्रमहरुमा नदेखिने उनी राजधानीमै छन । सांसदको भूमिकामा जिल्लास्तरीय गतिविधिहरुमा उनको संग्लन्नता कांग्रेस कार्यकर्ताहरुले अनुभूति नै गर्न पाएका छैनन ।

सोमबार देशभर जस्तै पर्वतमा भएको सडक प्रदर्शनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिए । नेपाली काँग्रेस पर्वतले आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रमलाई सम्वोधन गर्दै नेता बलायरले दुई तिहाईको दम्भ देखाएर प्रतिपक्षिलाई पेल्दै जाने हो भने मुलुक ठूलो दुर्घटनामा पर्ने बताए । उनले महङ्गी बढाउन, मुलुकलाई भ्रष्टाचारमा डुवाउने अधिकार सरकारलाई नभएको बताउँदै जनपक्षिय काम गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नबराज गुरुङ्ग, गण्डकी प्रदेश सभाका सदस्य सांसद ललितकला गुरुङ्ग, जिल्ला कोषाध्यक्ष रामकृष्ण मल्ल, कांग्रेस नेता राजेन्द्र तिवारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । यस पार्टी कार्यालयबाट शुरु भएको बिरोध ¥याली कुश्माबजार परिक्रमा गरि लोकतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो । उनीहरुले सरकार बिरुद्ध नाराबाजी समेत गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टी सचिव प्रसाईले गरेका थिए । अर्थ वीट साप्ताहिकबाट