पौष १३, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजार र फलेवास क्षेत्र वीचको दुरी अव छोटिने भएको छ । सवारी साधन मार्फत सदरमुकाम कुश्मा आउन लामो दुरी पार गर्नुपर्ने फलेवास र दक्षिणी क्षेत्रका बासिन्दाको यात्रा अव छोटिने भएको हो ।
वन पर्यटन तथा उद्योग मन्त्री विकास लम्सालको पहलमा कुश्मा देखि मोदीवेणी धामसम्मको बाटोलाई कालोपत्रे गर्ने कार्य अगाडि बढेसंगै यात्रा छोटिने भएको छ । फलेवास, विहादी, महाशिला र पैयू क्षेत्रमा जानेका लागि सडक स्तरोउन्नतीसंगै कुश्मा बजारबाट अव बडागाउँबाट मोदीवेणी हुँदै यात्रा गर्न सहज हुने भएको छ ।
सडक कालोपत्रे हुँदा प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी दिब्यधामको महत्व समेत थप बृद्धि हुने प्रदेश मन्त्री विकास लम्सालले बताए । उनले दक्षिणी क्षेत्रका जनता कुश्मासम्म जान घुमाउरो सडक प्रयोग गर्न बाध्य भएका कारण पनि निर्माणधिन सडक सम्पन्न हुँदा यात्रा सहज हुने विश्वास ब्यक्त गरे । ट्रयाक खुलेर पनि लामो समयदेखि अलपत्र बनेको उक्त सडक चक्ल्याउने र नाली निर्माण गर्ने काम शुरु भएको हो ।
उक्त सडकको कालीगंगा निर्माण सेवाले बाटो चक्ल्याउने र नाली निर्माणको काम अघि बढाएको छ । झण्डै डेढ किलोमिटर लामो उक्र सडक इस्टिमेट अनुसार चक्ल्याउने काम करिब पुरा भएको र केहि ठाउँमा चट्टान काट्नुपर्ने भएकाले ब्रेकर लगाउने तयारी भएको निर्माण समितिका अध्यक्ष मेघनाथ सुवेदीले जानकारी दिए । चालु आर्थिक बर्षका लागि ५० लाख रकम प्रदेश सरकारबाट विनियोजन भएको छ ।
कूश्मा नगरपालिकाको १५ लाख समेत उक्त सडकमा चालु बर्षमै खर्च हुँदैछ । सडक निर्माण सम्पन्न हुँदा कालीगण्डकी लोकमार्ग पनि सदरमुकाम कुश्माबजारसंग प्रत्यक्षरुपमा जोडिन्छ । हाल निर्माणधिन लोकमार्ग अन्तर्गत मोदीखोलामा मोटरेबल पुल सम्पन्न भएपछि पर्वतको फलेवास नगरपालिका लगायत दक्षिण क्षेत्रका बासिन्दा सदरमुकाम आउजाउका लागि झण्डै डेढ घण्टा बाटो छोटिने भएको छ । पुलको निर्माणकार्य धमाधम भैरहेको छ । हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको कालीगण्डकी लोकमार्ग आयोजनाले जनाएको छ ।
चालु आर्थिक वर्षमा स्तरोन्नति र नाली निर्माणको काम सम्पन्न गर्ने र अर्को आर्थिक वर्षमा कालोपत्र र आवश्यक ठाउँमा ढलान गरेर पुर्ण रुपमा सम्पन्न गर्ने योजनाका साथ काम अघि बढाईएको सडक निर्माण समितिका अध्यक्ष सुवेदीले जानकारी दिए । सडक कालोपत्रे सहितको योजना स्टिमेटको काम पूर्वाधार कार्यालय पर्वतले गरिरहेको छ ।
सदरमुकामसँगै जोडिएको सडक भएपनि लामो समयदेखि अलपत्र जस्तै बनेको थियो, प्रदेश सरकारले बजेट बिनीयोजन गरेपछि गति लिएको छ उनले भने–‘सडक बनेपछि मोदीवेणी क्षेत्रको प्रवद्र्धन पनि हुनुका साथै कालीगण्डकी लोकमार्ग कुश्मासँग जोडिएपछि कुश्माबजारको व्यापार व्यावसाय प्रवद्र्धनमा पनि टेवा पुग्ने छ ।’
कालीगण्डकी लोकमार्गको ट्रयाक मोदीवेणीदेखि अर्मादीसम्म खोल्न बाँकी रहेका बेला उक्त सडकनै बैकल्पिक मार्गको रुपमा प्रयोग हुनेभएकाले पनि प्रदेश सरकारले उच्च प्राथमिकतामा पारेको बताईएको छ ।




