२२ मंसीर, पर्वत । सडक खनिएको बर्षौसम्म पनि सडक कालोपत्रे नहुँदा मोदी गाउँपालिकाको बाजुङ र क्याङका जनताले सास्ती बेहोर्दै आइरहेका छन । बाक्लो र घनावस्ती भएको उक्त क्षेत्रका स्थानीयले अव भने सडक सञ्जालका कारण दुःख नपाउने भएका छन । सांसद पदम गिरीले चालु आर्थिक बर्ष देखि नै उक्त सडकलाई पक्कि बनाउने गरी योजना निर्माण गरेका छन ।
उनले पूर्वाधार साझेदारी कार्यक्रम मार्फत सडकका लागि रकम विनियोजन मात्रै गरेनन फिल्डमै पुगेर सडकको नाप जाँच गरी स्थानीयलाई सडक कालोपत्रे बनाउन सहयोग गर्न अनुरोध गरे । पातिचौर क्षेत्रमा पक्कि घरहरु समेत बनेका कारण जग्गा उपलब्ध गराउन समस्या रहँदै आएको स्थानीयको गुनासो पछि सांसद आफै फिल्डमा पुगेका थिए । जिल्ला पूर्वाधार कार्यलयका प्रमुख दयाराम अधिकारी सहितको टोली लिएर फिल्डमा पुगेका सांसदसंगै स्थानीयले सडक कालोपत्रे गर्न आफूहरुले जग्गा उपलब्ध गराउने सहमति गराएका छन ।
कुल १० किलोमिटरको सडक चालु आर्थिक बर्ष देखि नै पक्कि बनाउने गरी योजना निर्माण गरिएको छ । पूर्वाधार कार्यलयको १ करोड २० लाख, पूर्वाधार साझेदारी कार्यक्रमको ४० लाख र गाउँपालिकाको १५ लाख रकमलाई डुब्लीकेशन नहुने गरी स्टिमेट तयार गरी निर्माण कार्य अगाडि बढाइने सांसद गिरीको भनाई छ । उनले निर्वाचनको बेला आफूले मत माग्दा धुलाम्मे सडकको अन्त्य गर्ने घोषणा गरेको स्मरण गर्दै प्रतिबद्धता पुरा गर्न आफू दिनरात लागि परेको बताए ।
पूर्वाधार कार्यलयका प्रमुख दयाराम अधिकारीले विनियोजीत बजेटले सडक मर्मत सम्भार मात्र गर्दा सडकको अवस्था जस्ता त्यस्तै रहने हुँदा बजेटको सिमा भित्र रहेर सडकलाई कालोपत्रेकै चरणमा लगिने जानकारी दिए । अधिकारीले सांसदको चाहना र स्थानीयको भावना बमोजीम जिल्लाका अन्य सडकहरुमा पनि रकमको उचित प्रयोग गरी सडकलाई पक्कि बनाउने अभियान सञ्चालन गरिने बताए । पातिचौर देखि बाजुङ हुँदै क्याङ जोड्ने सडकलाई कुल ७ मिटर चौडा गरिनेछ । ३ दशमलब ७५ मिटर चौडा कालोपत्रे र ढलान गरिने अधिकारीले जानकारी दिए ।
सडक ७ मिटर चौडा गर्न स्थानीयले सहमती जनाएसंगै बजेट बमोजीमको डिजाइन स्टिमेट तयार गरी तत्काल टेण्डर प्रक्रिया शुरुवात गरिनेछ । बाजुङका वडाअध्यक्ष दलबहादुर मल्लले पातिचौर क्षेत्रमा अव जग्गाको समस्या नपर्ने भन्दै सांसदको पहलमा सडक कालोपत्रे हुनेमा अव आफूहरु ढुक्क रहेको बताए । उनले सडक कालोपत्रेका लागि थप बजेट सुनिश्चितताका लागि सांसदसंग आग्रह पनि गरे । बाजुङ जिल्लाकै धेरै जनसंख्या भएको वडा समेत हो ।
यस अघि पातिचौर देखि देउपुर हुँदै भुकदेउराली जाने सडकको कालोपत्रेको काम शुरु भएको छ । उता, डिमुवा देखि तिलाहार हुँदै राम्जा देउराली जाने सडक समेत कालोपत्रेकै चरणमा छ । यी सवै सडक कालोपत्रे हुँदा मोदी गाउँपालिकाका सवै मूख्य सडक कालोपत्रे हुनेछन ।




