पर्वत, १९ मंसिर । नेपाल इञ्जिनियर्स एशोसिएसनको ३२ औँ अधिवेशन तथा गण्डकी प्रदेशको पथम कार्यकारिणी समितिको निर्वाचनका लागि गण्डकी प्रदेश अन्तर्गतका प्रगतिशिल समुहका उम्मेदवारहरु जिल्ला दौडाहामा निस्किएका छन् । यही मंसिर २८ गते सञ्चालन हुन गई रहेको केन्द्रीय कार्यकारीणी समिति र गण्डकी प्रदेश स्तरीय कार्यकारीणी समितिमा आफ्नो बर्चस्व जमाउन उनीहरु जिल्ला जिल्लामा निस्किएका हुन् ।
समृद्धि नेपाल र सुखी नेपाली राष्ट्रको आह्वान, गतिशील इञ्जिनियर, जिम्मेवार योगदान भन्ने मुख्य नाराका साथ गण्डकी प्रदेशका प्रगतिशील समुहका उम्मेदवारहरु बाबुराम भण्डारीको नेतृत्वमा बुधबार पर्वत आइपुगेका हुन् ।
पर्वतमा आयोजित निर्वाचन प्रचारप्रसार कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदम गिरीले उम्मेदवारहरुलाई अग्रिम शुभकामना व्यक्त गर्दै मुलुकको समृद्धिका लागि इञ्जिनियरहरुको भूमिका महत्वपूर्ण रहेको प्रष्टाए । उनले मुलुक र राष्ट्रले उद्घोष गरेको मुख्य नारा नै समृद्ध नेपाल सुखी नेपाली भएको बताउँदै उक्त अभियान सफल पार्नका लागि प्रगतिशिल समुहको विजयी आवश्यक रहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश कार्यकारी समितिका सभापतिका उम्मेदवार बाबुराम भण्डारीले मुलुक सञ्चालनको माथिल्लो निकायमा रहेका सत्ताधारी नेतृत्व र नेताहरुले देखेको सपना पुरा गर्न आफुहरु तयार रहेको बताउँदै त्यसका लागि विजयी आवश्यक रहेको बताए । उनले पर्वत जिल्लाका विभिन्न तहमा कार्यरत इञ्जिनियरहरुलाई मतदानका लागि अनुरोध गर्दै समृद्ध नेपाल निर्माणमा सहयोग गर्न आग्रह समेत गरेका थिए ।
प्रगतिशील इञ्जिनियरर्स एशोसिएसन नेपाल पर्वतको व्यवस्थापनमा सञ्चालन भएको कार्यक्रममा पर्वत इञ्चार्ज जगदिश शर्माले उक्त समुहलाई जिल्लामा स्वागत गर्दै इञ्जिनियर पेशालाई आम जनसमुदाय समक्ष नै सक्षम, सवल र जिम्मेवारीपूर्ण पेशाका रुपमा स्थापित गराउन अग्रसर हुनुपर्नेमा सुझाव दिएका थिए ।
गण्डकी प्रदेश चुनाव प्रचारप्रसार समितिका संयोजक मेहेन्द्र बहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, अर्थतथा योजना विभागका पुर्व सदस्य एवं प्रगति इञ्जिनियरिङ्ग कन्सल्टेन्सीका प्रबन्धक देउकाजी गुरुङ, जिल्ला समन्वय समति पर्वतका संयोजक मनोहर वि पौडेल लगायतले बोलेका थिए ।
उक्त अधिवेशनमा प्रगतिशिल समुहको तर्फबाट केन्द्रीय समितिका लागि त्रिरत्न बज्राचार्यको नेतृत्वमा १८ जना र गण्डकी प्रदेशमा बाबुराम भण्डारीको नेतृत्वमा १६ जनाको समुह चुनावी मैदानमा उत्रिएको छ ।




