Print

‘सरकारलाई चौतर्फी घेराबन्दी गर्न खोजीयो’–नेता पौडेल

१७ मंसीर, पर्वत । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य देवेन्द पौडेलले वर्तमान सरकारलाई चौतर्फी घेराबन्दी शुरु भएको बताएका छन । पर्वतको पैयू गाउँपालिका स्थित हुवासमा आयोजीत शहिद स्मृति सभालाई सम्बोधन गर्दै नेता पौडेलले सरकार लोकप्रिय हुने डरले घेराबन्दी गर्न खोजीएको बताएका हुन । सरकार आफैमा कमजोर नभएपनि चौतर्फी घेराबन्दीका कारण सानातिना गल्तीहरुका कारण साखमा क्रमशः विचलतना आउदै गएका कारण समयमै सोच विचार गरी सरकारका कामकारबाहीको समिक्षा गर्न जरुरी रहेको नेता पौडेलको भनाई छ ।

देशमा कम्युनिष्टको दुई तिहाइको सरकार हुँदा पनि लोकप्रियता हासिल गर्न नसक्नु आफैमा दुःखत रहेको भन्दै समय आएपछि देखिने गरी सरकारले काम गर्नुपर्ने बताए । उक्त अवसरमा शहिद गेटको समेत पौडेलले उदघाटन गरेका थिए । अर्को एक फरक प्रशंगमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि सभाका सांसद समेत रहेका पौडेलले वर्तमान सरकारको अर्को काम शहिदको सपना साकार बनाउनु रहेको पनि उल्लेख गरे । उनले शहिदको रगतद्धारा बनेको कम्युनिष्टको सरकारले सधै शहिदले देखाएको बाटोमा हिड्नुपर्ने धारणा समेत राखे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य गुप्त हमालले सरकारले गरेका राम्रा कामको प्रचार गर्न पार्टी कमिटि गठन नभएका कारण पनि समस्या परेको धारणा राखे । हमालले दिर्घकालीन योजनाका कामहरुको शुरुवात गरेको कम्युनिष्ट सरकारको प्रचार नकारात्मक भएको भन्दै पार्टी कार्यकर्ताहरुले त्यसको डिफेन्स गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा अर्का केन्द्रिय सदस्य विजय गुरुङले सहि बाटोमा हिड्नुपर्ने बेलामा सरकारले बाटो विराउँदै गएका कारण पनि समस्या सृजना भएको बताए । उनले पार्टीको निर्णय र संगठनको मर्म बमोजीम नै सरकार अगाडि बढ्दा त्यसले सफलता पाउने विश्वास ब्यक्त गरे । कार्यक्रममा कम्युनिष्ट पार्टीका प्रदेश कमिटि तथा प्रतिनिधि सभाका सदस्य पदम गिरी, महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल लगाएतले आफ्नो धारणा ब्यक्त गरेका थिए ।