१ मंसीर, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकामा सञ्चालित ख्वांजु क्लिनीकलाई ५० शैयाको सामुदायिक अस्पताल बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।
पर्वतको मोदी गाउँपालिकामा सञ्चालित ख्वांजु क्लिनको दोस्रो बार्षिकोत्सब तथा निशुल्क स्वास्थ्य शिबीरको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न आग्रह गर्नुभएको हो । कोरियाको ख्वांजु महानगरको सहयोगमा सञ्चालित क्लिनकलाई गाउँपालिकाले समेत सहयोग गरेर ५० शैयाको सामुदायिक अस्पताल बनाउन आफुँले पनि पहल गर्ने आश्वासन दिनुभयो । प्रदेश सरकारले बढी दुर्घटना हुने र सवारी चाप हुने राजमार्गमा हाइवे ट्रमा सेन्टरको रुपमा स्थापना गर्ने कार्यक्रम भएकाले मध्यपहाडी लोकमार्गमा पर्ने डिमुवामा उक्त सेन्टर उपयुक्त बिकल्प भएको भनाई उहाँको थियो ।
अर्को प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सीनाले संघीय संसदको आगामी हिउँदे अधिबेशनबाट मुलुकका तीन वटै तहलाई आवश्यक पर्ने सबै कानुन बनाउने बतानुभएको छ । कानुनको अभाबमा काम रोकिने अवस्थाको अन्त्य गर्न संघीय संसदले सबै कानुन निर्माण र परिमार्जन गर्ने बताउनुभएको हो ।
‘अहिले सम्म कानुनको अभाबमा तीन वटै तहका सरकारले चाहे जति काम गर्न नसकेको अवस्था छ।’ उहाँले भन्नुभयो ‘यसपटकको हिउँदे अधिबेशनको पहिलो प्राथमिकता नै मुलुकका लागि आवश्यक सबै कानुन बनाउने भएकाले सबै तहले काम गर्न सक्ने वातावरण बन्छ।’ आगामी पुसदेखि संघीय संसदको हिउँदे अधिवेशन बोलाइने बताउँदै अध्यक्ष तिमिल्सीनाले ३ सय ३९ वटा ऐनलाई संशोधन गर्ने तथा थप १ सय २४ वटा नयाँ कानुन निर्माण गर्ने काम हिउँदे अधिबेशनमा गरिने जानकारी दिनुभयो । ‘हाम्रो मुख्य काम संबिधान संग बाझिएका ऐनको संशोधन र सबै तहका लागि आवश्यक नयाँ कानुनहरु निर्माणमा केन्द्रित हुन्छ’ उहाँको भनाई थियो ।
कानुन अभाबमा प्रदेश सरकार र स्थानिय तहका काम प्रत्यक्ष प्रभावित भएकाले प्रदेश सरकारका लागि आवश्यक १८ वटा कानुन हिउँदे अधिबेशनबाटै पारित गरि काम गर्न सहज बनाईने आश्वासन पनि दिनुभो । आफुँले बजेट अधिबेशनकै क्रममा प्रदेश र स्थानिय तहका लागि आवश्यक कानुन पास गर्ने पक्षमा जोड दिएपनि समय अभाब र मौलिक हकका कानुनहरु पास गर्नुपर्ने अवस्थामा पुरा हुन नसकेको उहाँको भनाई छ । ‘बजेट अधिबेशनमा स्थानिय र प्रदेश सरकारलाई आवश्यक पर्ने कानुनहरु समयको अभाबमा बनाउन नसकेपनि अहिले प्राथमिकतामा भएकाले यसमा चिन्ता मान्ने अवस्था छैन’ उहाँले भन्नुभयो ।
दुई दिन सम्म चल्ने उक्त शिबीरमा बरिष्ठ मुटुरोग सर्जन अनिल भट्टराई सहित नेपाली चिकित्सक र कोरियाबाट आएको बिशेषज्ञहरुको टोलीले स्वास्थ्य परिक्षण र उपचार गर्नेछन । उपचारकालागि पर्वतको मोदीगाउँपालिका, कुस्मा नगरपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकाका सयौ बिरामी आइपुगेका छन । कोरियाको ख्वांजु महानगरको सहयोगमा सञ्चालित उक्त क्लिनीकमा दैनिक ३० जना बिरामीले उपचार गर्दै आएको समग्र स्वास्थ्य नेपालका अध्यक्ष रुद्र शर्माले जानकारी दिनुभयो ।
शिविरको उद्घाटन पछि आजै राष्ट्रिय सभा अध्यक्षले पशुपति माविको स्वर्णजयन्तीको विषयमा सरोकारवालाहरुसंग छलफल, सामुदायिक अस्पताल सञ्चालन सम्बन्धमा मोदी गाउँपालिकाका पदाधिकारीसंग छलफल गर्नुका साथै निर्माणधिन मोदी ६ तिलाहारको वडा कार्यालयको निरिक्षण समेत गर्नुभएको छ । अध्यक्ष तिमिल्सीना आजै मोदी ६ तिलाहारका स्वर्गीय हरिरत्न पुरीको परिवारलाई भेटेर परिवारलाई समवेदना र मृत आत्मप्रति श्रद्धाञ्जली समेत ब्यक्त गर्नुभयो ।




