Print

‘पर्वतलाई सम्बृद्ध बनाउने सपना देखेको छुु’–सांसद गिरी

१ मंसीर, पर्वत । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड रकम बाँडफाँड गरेको भोलीपल्ट एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले जिल्लालाई सम्बृद्ध बनाउने आफ्नो संकल्प दोहोराएका छन ।

टुक्रे र महत्वहिन योजनाहरुमा रकम विनियोजन हुने गरेको यस अघिको प्रचलनको अन्त्य गर्दै ठूला योजनाहरुको शुरुवात गर्ने उद्घोष गरेका गिरीले मध्यरातको सपनामा पनि अचेल पर्वत सम्बृद्ध बनेको सपना देख्ने गरेको बताएका छन ।

युवा पुस्ताको प्रतिनिधित्व गर्ने सांसद गिरीले परिर्वतन आफ्ना पालामा सम्भव छ भन्ने नारा अगाडि सार्दै ५ बर्षमा भौतिक पूर्वाधार निर्माणमा पर्वतले फड्को मार्ने गिरी विकास हुने समेत बताए ।

५ बर्षमा ५ मुख्य योजनाहरु साकार पार्ने उद्घोषण गर्दै गिरीले सडक कालोपत्रेलाई मुख्य आधार बनाउनुपर्ने बताए । उनले खानेपानीको सहज पहुँचबाट नेपाली जनता लाभान्वित हुन पाउनु संवैधानिक हक भएकाले एक घर एक धारा अभियान समेत जिल्लामा बृहत रुपमा सञ्चालन भईरहेको जानकारी दिए ।
उनले कृषिजन्य वस्तुको उत्पादन मार्फत परनिर्भरताको अन्त्य गर्न कृषि योग्य भूमिमा सिंचाई नहरको विकास गर्नु पनि जिल्लाको अर्को आवश्यता रहेको भन्दै यस्तो कार्यमा आफूले सवै निकायहरुलाई सहयोग र आवश्यक पहल गरीरहेको बताए ।

सांसद गिरीले युवा पुस्ताको ब्यक्तित्व र नेतृत्वको विकास गर्न खेलकुद क्षेत्रको विकास गर्नूपर्नेमा जोड दिदै पर्यटन प्रवद्र्धन मार्फत स्थानीय स्तरमा आम्दानीका श्रोतहरुको पहिचान गर्नुपर्ने धारणा राखे । कुश्मा नगरपालिकाको आर्थरमा आयोजीत रयालेडाँडा मेलालाई सम्बोधन गर्दै सांसद गिरीले स्वास्थ्य र शिक्षालाई राज्यले निशुल्क प्रदान गर्ने वातावरणको सृजना गर्नुपर्ने भन्दै यसले मात्रै सबल, सक्षम र सम्बृद्ध समाजको निर्माण हुने धारणा ब्यक्त गरे ।

पूर्वाधार साझेदारी कार्यक्रममा पहिलो बर्ष सडक कालोपत्रेमा आफूले जोड् दिएको भन्दै उनले सहज यातायातको सुविधा विस्तार हुँदा भाडादर कम हुने, स्वास्थ्य सेवा लिन समय धेरै खर्च गर्नु नपर्ने र गुणस्तरीय शिक्षालय पुग्न समेत सकिने भएकाले सडक कालोपत्रेले बहुआयामीक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । सम्बृद्धिका लागि पहिलो चरणमा सडक पूर्वाधारको विकास हुनुपर्ने भन्दै गिरीले अन्य पूर्वाधार निर्माण गर्न आवश्यक पर्ने सामाग्री ढुवानी गर्न पनि सडक पहिलो अपरिहार्य रहेको उल्लेख गरे । उनले दोस्रो बर्ष देखि अन्य विषयका क्षेत्रहरुमा समेत परिर्वतन देखिने गरी कार्यक्रमहरु कार्यन्वयन गर्ने बताउँदै सम्बृद्धि पथमा स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारको पनि जोडबल पुग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, उपप्रमुख यामकुमारी राना, नेकपाका जिल्ला संयन्त्र सदस्य गोबिन्द पहाडी, कुस्मा १४ का वडा अध्यक्ष भीमप्रसाद गुरुङ्ग, नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका कोषाध्यक्ष आनन्द रिमाल, पञ्चकोशी माबिका प्रअ अर्जुन पौडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

दियाली ब्रर्दश युथ क्लब रयालेडाडाँका अध्यक्ष गंगाबहादुर बिक(कुशल)को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिब शरण बिक र सञ्चालन बबि सुनारले गरेकी थिइन ।