२३ कार्तिक, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ६ तिलाहार निवासी हरिरत्न पुरीको निधनप्रति जिल्लाका कम्युनिष्ट नेताहरुले श्रद्धाञ्जली ब्यक्त गरेकाछन । कार्तिक २१ गते आफ्नै घरमा उपचारको क्रममा निधन भएका पुरीको निधनले नेपाल कम्युनिष्ट पार्टीलाई अपुरणीय क्षति भएको भन्दै पार्टीका नेताहरुले श्रद्धाञ्जली ब्यक्त गरेका हुन ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को जनयुद्धकाल देखि नै राजनीतिमा सक्रिय पुरीलाई तत्कालीन राज्यपक्षले पटक पटक हिरासतमा लिएर यातना दिएको थियो । तिलाहारमा रहेको महेन्द्र प्राथमिक विद्यालयका प्रअ समेत रहेका पुरीले शिक्षण पेशाबाटै बर्गिय आन्दोलनमा सहभागी भई राजनैतिक परिर्वतनमा अतुलनीय योगदान दिएको भन्दै कम्युनिष्ट नेताहरुले पुरीको राजनैतिक योगदानको उच्च कदर गरेका छन ।
पुरीको विहिबार मोदीवेणीधाममा अत्यष्टि गरिएको छ । अत्यष्टि पुर्व नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य तथा पूर्व सांसद कल्पना चापागाईले कम्युनिष्ट पार्टीको झण्डा ओढाएकी थिइन । उक्त अवसरमा प्रतिनिधि सभा सदस्य तथा कम्युनिष्ट पार्टीका नेता पदम गिरी, जिल्ला कार्यदल सदस्य भक्त कुवंर, गोविन्द पहाडी लगाएतको उपस्थिती थियो ।
बर्गिय मुक्तिको आन्दोलनमा सक्रिय पुरी तत्कालीन माओवादी निकट शिक्षक संगठनको जिल्ला उपाध्यक्ष समेत थिए । सामाजिक अगुवाको रुपमा स्थानीय विकास निर्माणका कार्यहरुमा समेत सक्रिय रहँदै आएका पुरीको निधन प्रति मोदी ६ तिलाहारका कम्युनिष्ट पार्टीको नेता बाबुराम पराजुलीले समेत गहिरो दुःख ब्यक्त गरेका छन । पुरी स्वासप्रश्वास सम्बन्धि रोगबाट पिडित थिए । उनका ४ भाई छोराहरु रहेका छन ।




