Print

पर्वतको पैयूमा १ दिने कर शिविर सम्पन्न, ४ सय ३५ जनाले सेवा लिए

१७ असोज, पर्वत । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पैयू गाउँपालिकामा कर शिविर सम्पन्न भएको छ । स्थानीय मर्दीखोला बजार ब्यवस्थापन समितिको आयोजनामा भएको उक्त शिविरमा ४ सय ३५ जनाले सेवा लिएका छन । पर्वत उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय पर्वतको अग्रसरतामा भएको उक्त शिविरमा आन्तरीक राजश्व कार्यालय पोखरा, घरेलु तथा साना उद्योग विकास समिति पर्वत र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट प्रदान हुने सेवाहरु उपलब्ध गराइएको थियो ।

शिविरमा सेवा लिएका मध्ये ३ सय ६९ जनाले आन्तरीक राजश्व कार्यालय पर्वतमा आय विवरण भरी कर तिरेका थिए । यसैगरी घरेलु कार्यालय तर्फ ३२ जनाले बाणिज्य ब्यवसाय दर्ता गरेका छन भने १३ जनाले नयाँ उद्योग दर्ता गरेका थिए । घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता भएका मध्ये १९ जना ब्यवसायीले उक्त ब्यवसाय नविकरण गरेका छन भने २ जनाले प्रतिलिपि लिएका थिए ।

उद्योग दर्ताबाट मात्रै झण्डै २ लाख राजश्व संकलन भएको थियो । कर शिविरको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले राज्यले सहज ढङगले सेवा दिने गरी संघियताको विकास गरे पनि अझै पनि गाउँ वस्ती स्तरबाट सवै सेवा दिन नसकिरहेको उल्लेख गरे । उनले ब्यवसायीले कर अनिवार्य तिर्नुपर्ने र कर तिर्ने वातावरण सहज हुनु पर्ने धारणा राखे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कर कार्यालय दुर्गम वस्तीसम्म पुगेर सेवा दिएको धन्यवादन ब्यक्त गरे । उनले पायक गर्ने स्थानमा कार्यालयहरु नहुँदा टाडा वस्ती भएका बासिन्दाहरुले दुःख पाइरहेको भन्दै त्यसको ब्यवस्थापन हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा आन्तरीक राजश्व कार्यालयका प्रमुख कर अधिकृत केशव उप्रेतीले वर्तमान कर नीतिका बारेमा जानकारी गराएका थिए । उनले विवरण बुझाउन आनाकानी गरेमा कुनै न कुनै दिन कारबाहीमा परिने भएकाले आफ्नो कारोबारको विवरण यथार्थ कार्यालयमा पेश गर्न अनुरोध गरे ।

ब्यवसायीहरु थोरै कर तिर्न पनि धेरै रकम खर्च गरेर पोखरा र पर्वत सदरमुकाम कुश्मासम्म आउनुपर्ने बाध्यतालाई हटाउदै ब्यवसायीलाई सहज पहुँच पुराउनका लागि यस्तो शिविर सञ्चालन गरिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए । शर्माले आन्तरीक राजश्व कार्यालयले आफ्नो कार्य क्षेत्रका अन्य जिल्लाहरुमा शिविर सञ्चालन नगरिरहेको बेला पर्वत उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयको अनुरोधमा उक्त शिविरमा सहयोग पुराएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले सवै राजनीति आन्दोलन सफल बनाउन योगदान पुराउने नीजि ब्यवसायीलाई सरकारले भने यथोचित सहयोग गर्न नसकेको आरोप लगाए । उनले कर तिर्ने प्रक्रिया सजिलो र छोटो हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा पैयू गाउँपालिका वडा न ४ का वडा अध्यक्ष महेन्द्र श्रेष्ठले स्थानीय तहबाट सेवा लिने वातावरण सृजना गर्ने कार्यालयहरुलाई धन्यवाद ब्यक्त गरेका थिए । मर्दीखोला बजार ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका सचिव कृष्णप्रसाद शर्माले गरेका थिए ।