Print

जलजलाको बगर फाँटबासीले सांसद गिरीसंग भने –‘कालीगण्डकीको त्रासमा कहिलेसम्म बाँच्ने हो ?’

२ असोज, पर्वत । जिल्लाको जलजला गाउँपालिका माझफाँट स्थित बगरफाँटका स्थानीयले सांसद पदम गिरीसंग कालगण्डकी नदीको कटानको विषयमा गुनासो गरेका छन । उनीहरुले कालीगण्डकी नदीले बर्षेनी कटान गर्दा आफ्नो वस्ती जोखिममा परेको भन्दै सांसद गिरीसंग वस्ती संरक्षण नगर्दा आफूहरु त्रासमा बाँच्नु परेको गुनासो गरेका हुन ।

गत भदौ २६ गते कालीगण्डकी नदीमा आएको बाढिले बगरफाँट वस्तीलाई राजमार्गसंग जोड्ने सडक भत्काईदिएको छ । सवारी चल्न नसक्ने गरी सडक भत्किएपछि वस्तीमा सवारी आगमन बन्द भएको छ । उता, बाढिका कारण स्थानीय विद्यालय समेत जोखिममा परेको छ । वडा अध्यक्ष देवेन्द्र भण्डारी भन्छन–‘बगरफाँटबासीको त्रास कहिले अन्त्य गर्ने ?’

बाढिका कारण सडक भत्किएको र बस्ती जोखिममा परेपछि प्रतिनिधि सभा सदस्य गिरी स्थलगत अवलोकनका लागि उक्त क्षेत्रमा पुगेका थिए । सांसदले खोलाको कटान र त्यसको रोकथामका लागि गर्न सकिने प्रयासको बारेमा प्रतिबद्धता जनाउँदै खोलाको आफ्नो वहावलाई असर नपर्ने गरी रोकथामको प्रयास गर्नुपर्ने बताए ।

उनले केन्द्रिय सरकारमा यो विषयमा आफूले गम्भिर ध्यानकर्षण गराएको स्मरण गराउँदै पुनः ठूलो रकमबाट बस्ती संरक्षणका लागि केन्द्रिय सरकारको तर्फबाट बजेट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । नदीले कटान गर्न थालेपछि बगर फाँटका सयौ घर जोखिममा परेका छन ।

वस्ती संरक्षण गर्न नदी नियन्त्रणका लागि चालु आर्थिक बर्षमा केन्द्रिय सरकारबाट ५० लाख रकम विनियोजन भएको बताउँदै गिरीले आगामी बर्षमा पनि उचित ढङगले वस्ती संरक्षणमा आफूले प्रयास गर्ने प्रतिबद्धता दोहेराए ।