१२ असार, पर्वत । सडकको स्तरोउन्नती भईरहेको मध्यपहाडी लोकमार्ग अन्तर्गतको पोखरा–बागलुङ सडक खण्डमा दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । सडक निर्माण कार्यलाई सहज बनाउनका लागि आइतबार पर्वत सदरमुकाम कुश्मा बजारमा भएको सर्वपक्षिय छलफलले सडकलाई दैनिक ८ घण्टा बन्द गराउने निर्णय गरेको हो ।
‘सडक निर्माण कार्यलाई सहज होस भनेर हामीले ८ घण्टाको समय तालिका सर्वपक्षिय छलफलबाट पास गरेका छौ’ प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भन्छन–‘सडक निर्माण कार्यमा सवैको सहयोग भएमा समयमै सडक निर्माण कार्य सम्पन्न हुनसक्नेछ’ निर्माण ब्यवसायी गोविन्द भुषालले गरेको प्रस्तावना उपर छलफल गर्दै पत्रकार, सुरक्षा निकाय, ब्यवसायी र जनप्रतिनिधिहरुको संयुक्त छलफलले विहान १० देखि १२ बजेसम्म दुई घण्टा सडक बन्दको प्रस्ताव गरेको छ ।
यसैगरी १ बजेदेखि बेलुका ४ बजेसम्म तीन घण्टा पनि सडक बन्न हुनेछ । सडक निर्माण कार्यलाई गति दिन बेल का ५ बजेदेखि ८ बजेसम्म थप तीन घण्टा सडक अवबाट बन्न हुने भएको छ । सडक खण्डको डिमुवा नजिककै भिर र चुवाको भिर काट्ने प्रयोजनका लागि सडक पूर्णरुपमा बन्द गर्नुपर्नेभएकाले उक्त समय तालिकामा सहमति जनाइएको जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडलले बताए ।
ठेकेदार कम्पनीका प्रतिनिधिले गरेको प्रस्तावलाई थप वैज्ञानिक बनाउँदै समय तालिका निर्धारण गरिएको हो । चुवा र डिमुवा खण्डको काम जतिसक्यो छिटो सक्ने गरी निर्माण कम्पनीलाई निर्देशन दिएको पनि पौडेलको भनाई छ ।
सडक बन्द हुने समयमा आपतकालिन विरामी बोकेका सवारी साधनहरुका लागि भने सडक खुल्ला गर्ने सहमति भएको प्रजिअ ढकालले जानकारी दिए । सर्वसाधारणलाई यात्रा सहज होस भनेर चुवा भिरमा डाइभर्सन सडक निर्माण गर्ने समेत निर्णय भएको छ । त्यसको लागि चुवाको तल्लो बस्तीबाट डाइभर्सन सडक निर्माण कार्य गर्ने गरी ठेकेदार कम्पनी, कुश्मा नगरपालिका र तल्लो मोदीजलविद्युत आयोजनासंग समेत अनुरोध गर्ने गरीएको प्रजिअ ढकालले बताए ।
सडक निर्माण कार्य छिटो सकेमा सडकमा यात्रा गर्न सर्वसाधारणलाई सहज हुने भएकाले बर्षात अघि नै ८ घण्टा जाम हुने समयमा अप्ठ्यारा भिरहरुको कटान कार्य सकिसक्नुपर्ने गरी कम्पनीलाई सर्वपक्षिय वैठकको सुझाब थियो । पर्वत खण्डमा कुल २३ हजार ७ सय मिटर (२३।७ किलोमिटर) सडक निर्माण कार्य भईरहेको छ ।
३६ महिनामा निर्माण कार्य सक्ने गरी लामा कन्ट्रक्सनले उक्त सडकको जिम्मा लिएको हो । कुल ८३ करोडको लागतमा उक्त सडक खण्डको स्तरोउन्नती गर्दै टुलेनको सडक बनाउने गरी सरकारले निर्माण कार्य अगाडि बढाएको हो । २०७४ साल भदौ देखि ठेकेदार कम्पनीसंगै सम्झौता गरी सडकको निर्माण कार्य अगाडि बढेको छ । सडक बन्द हुने समय तालिका कास्की खण्डमा भएको निर्माण कार्यका ठेकेदार कम्पनीसंग समन्वय गरी तत्काल लागु हुने छ ।





