७ फागुन, पर्वत । कुश्मानगरपालिका ११ पकुवा खुर्कोट पूर्ण खोप वडा घोषणा भएको छ ।
जन्मेदेखि २ वर्ष सम्मका ८० जना वालवालिकाहरुले नियमित खोप पाएको सुनिश्चितता भएपछि आइतबार पूर्ण खोपयुक्त वडा घोषणा भएको हो ।पूर्ण खोप अभियान गतवर्ष वाट शुरु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयको टोलीले नमूना सर्वे गरेर स्वास्थ्य व्यवस्थापन समितिको वैठकले पूर्ण खोप गर्न सकिने निश्चित गरेपछि घोषणा गरिएको हो ।
नेपाल सरकारले तोकेअनुसार वालवालिकाले जन्मेदेखि २ वर्षसम्मको अवधीमा वालवालिकाले नियमित खोप अन्तर्गत विसिजी, डिपिटी, हेप. वी., हिव, पोलियो, आईपिभी, पिसिवी, दादुरा लगायतका खोप लगाउनुपर्छ ।
ति सबै खोप यहाँ वालवालिकाले प्राप्त गरेको सुनिश्चित भएपछि वडा पूर्ण खोपयुक्त वनेको हो ।
आइतबार वडा स्वास्थ्य व्यवस्थापन समितिको आयोजनामा विशेष समारोह गरेर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. बुद्धिबहादुर थापाको प्रमुख आतिथ्यतामा वडालाई पूर्णखोप घोषणा गरिएको हो ।
पूर्ण खोप वडा घोषणा पछि आयोजित कार्यक्रममा वोल्दै डा. थापाले स्वास्थ अधिकार सवै नागरिकको नैर्सैगिक अधिकार भएकाले त्यसको सुनिश्चितता हुनुपर्ने बताए ।
उनले पूर्ण अव जन्मने वालवालिकालाई पनि सबै खोप लगाउन सवै आमा, बुवाहरु सजग रहनुपर्ने धारणा राखे ।
कार्यक्रममा रेडक्रस पर्वतका सभापति रुद्र बहादुर रिमाल, स्वास्थ्य संयोजक उमाकान्त सापकोटा, जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर देवेन्द्र गुरुङ, पत्रकार महासंघका सचिव गणेश गिरी, पूर्व जनप्रतिनिधि खुमप्रसाद सुवेदी, एमालेका टंकप्रसाद पौडेल, कांग्रेसका हर्कबहादुर मल्ल, माओवादी केन्द्रका बलबहादुर केसी, स्वास्थ्य चौकीका जग्गादाता जगदिश रिमाल र स्थानीय डम्बर बहादुर विकले मन्तब्य ब्यक्त गरेका थिए ।
वडा स्वास्थ्य समितिका अध्यक्ष एवं वडाध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत स्वास्थ्यचौकी प्रमुख सविता शर्माले गरेकी थिइन भने कार्यक्रम सञ्चालन शिक्षक धनपति रेग्मीले गरेका थिए ।
उक्त अवसरमा साविकका ९ वटै वडाका स्वयंसेवक, स्वास्थ्यचौकीलाई जग्गादान गर्ने जग्गादाता र शिक्षकहरुलाई सम्मान गरिएको थियो । कलाकार चित्रसागर श्रेष्ठ र धुव्र शर्माले कार्यक्रममा सांस्कृतिक प्रस्त्ुती राखेका थिए ।




