Print

शिक्षकबाट बर्खास्त अधिकारी प्रदेश सभामुख

३ फागुन, पर्वत । सादगी व्यक्तित्व । सरल र शान्त स्वभाव ।

साधारण बाहिरि व्यक्तित्व । झलक्क हेर्दा प्रदेश नम्बर चारको संसद सभासद नेत्रनाथ अधिकारीलाई पढिने यत्ति नै हो ।

तर पर्वतको पाङ् (हाल कुश्मा नगरपालिका १) मा जन्मिएका अधिकारीलाई बाहिरी रुपमा मात्रै पढियो भने अधुरो हुन्छ ।

यो प्रदेशको सभामुखसम्मको गन्तव्यमा पुग्दा उनले ठुलो राजीनितक त्याग र तपस्या गरेका छन् । पर्वतको पाङ् विद्धानको गाउँ हो भन्ने लोकोक्ति नेपालमै चर्चित छ ।

धौलागिरीको माटो सुँघेको कुनै पनि व्यक्तिले यस क्षेत्रमा चर्चित लोकोक्ति एकपटक पक्कै सुनेको छ ‘देउपुरको जस्तो खेती र पाती बाजुङ्को जस्तो गाम, उराठै लाग्ने दुर्लुङको डाँडो मोहनी लाग्न पाङ् ।’

यो कविताँशबाट नै पाङ् बिद्धतामा कति लोकप्रिय थियो र छ भन्ने कुराको पुष्टि गर्दछ ।

त्यै लोकप्रिय गाउँमा २०२२ साल जेठमा थगराज र देवकला अधिकारीको पुत्रको रुपमा जन्मिएका अधिकारीले नेपालको समाज परिवर्तनको आन्दोलनमा आफुलाई पुरै होमेका थिए ।

समाज र देशको गरिबी र बेथिति देखेर उनलाई यसलाई परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो र २०३८ सालदेखि राजनीतिक यात्रा शुरु गरे ।

नेपालको परिवर्तन कम्युनिष्ट पार्टीबाट मात्रै सम्भव देखेर चरम पञ्चायती कालमा नै तत्कालीन नेकपा चौथो महाधिवेशनमा आवद्ध भएर उनले राजनीतिक यात्रा शुरु गरेका हुन् ।

गाउँकै स्थानीय माविमा शिक्षक भई काम गरेका अधिकारी राजनीतिक स्वभावका कारण तत्कालीन शासकको पजनीमा परे ।

शिक्षण पेशामा लाग्दा पनि समाज परिवर्तनका कुरा गर्ने अधिकारीलाई शिक्षक आन्दोलामा सहभागी भएको आरोप लगाउँदै अस्थायी शिक्षण पेशाबाटै २०४१ सालमा बर्खास्त गरिएको थियो ।

उनले सो विद्यालयमा १८ महिना निशुल्क समेत अध्यापन गरे ।

समाज परिवर्तनको आन्दोलनमा सहभागि हुने क्रममा उनले जेलयात्रा पनि भोगे ।

पञ्चायती शासकको यातनाले उनको समाज परिवर्तनको हुटहुटीलाई समन गर्न सकेन ।

‘क्रान्तिकारीहरुको लागि जेल पाठशाला जस्तै हो ।’ भनेजस्तै उनलाई झन तेजिलो र तिख्खर राजनीतिकर्मी बनाएर जेलले बाहिर निकाल्यो ।

राजनीतिक यात्राकै क्रममा उनी २०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भए । त्यसपछि २०४८ सालमा नेकपा मशालको म्याग्दी जिल्ला सेक्रेटरी भई काम गरे ।

५० को दशककको शुरुआत तिर उनी नेकपा एकताकेन्द्रको पर्वत, वागलुङ्, स्याङ्जा, ईन्चार्ज र सेक्रेटरी भई काम गरेका थिए ।

२०५२ सालमा नेपालमा जनयुद्ध शुरु हुँदा उनलाई अब देश परिवर्तन शसस्त्र क्रान्तिबाटमात्रै सम्भव छ भन्ने लाग्यो । उनी माओवादी जनयुद्धमा सहभागी भए ।

शसस्त्र क्रान्तिको समयमा उनलाई पार्टीले विभिन्न जिम्मेवारी दियो ।

२०५७ देखि ५९ सम्म उनले नेकपा माओवादीको कास्की जिल्ला सेक्रेटरीको जिम्मेवारी पुरा गरे ।

२०५९ देखि २०६० सम्म उनले पार्टीकै स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारी पनि कुशलतापुर्वक निर्वाह गरेका थिए ।

२०६१ देखि ६२ सम्म उनले पार्टीको मगरात राज्य कार्यालयमा सेक्रेटरी भई काम गरेका थिए भने, २०६५ देखि उनी आफ्नै गृहजिल्ला पर्वतको पार्टी ईन्चार्जको भुमिकामा रहेका छन् ।

अधिकारी हाल नेकपा माओवादी केन्द्र पर्वतको पार्टी ईन्चार्ज सहित पार्टीको पोलिटव्यूरो सदस्य समेत रहेका छन् ।

२०७० को दोस्रोे संविधानसभा निर्वाचनमा उनी पर्वतको क्षेत्र नम्बर एकबाट निर्वाचनमा सहभागि भए । तर नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसँग पराजित भएका थिए ।