२८ माघ, पर्वत । पर्वतको सदरमुकाम कुस्माबजारको खस्कँदो ब्यबसायलाई माथि उकास्नका लागि नयाँ बिकल्पहरुको खोजी गर्नुपर्ने बिभिन्न क्षेत्रका ब्यक्तिहरुले सुझाब दिएका छन ।
पर्वत उद्योग बाणिज्य संघको ३५ औ साधारणसभा तथा १६ औं अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त सुझाब दिएका हुन ।
स्थानिय तह कार्यान्वयन तथा सडक सञ्जाज ग्रामिण क्षेत्र सम्म पुगेका कारण कुस्माबजारमा ब्यबसाय ५० प्रतिशत भन्दा कम भएकोले खस्कँदो ब्यबसायलाई उकास्नका लागि नयाँनयाँ बिकल्पहरुको खोजी गर्नुपर्ने उनीहरुको धारणा थियो ।
कुस्माबजारको मात्रै नभई पर्वत जिल्ला र प्रदेश नं ४ को बिकासका लागि महत्वपुर्ण मानिएका पुर्बाधार, जलबिद्युत र पर्यटनका योजनाहरु कार्यान्वयन गरि ब्यबसायिक वातावरण बनाउने र आर्थिक सम्बृद्धिको दिशामा अघि बढ्नुपर्ने धारणा उनीहरुको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले प्रदेश नं ४ लाई नै आर्थिक रुपमा सम्बृद्ध बनाउन सक्ने स्रोत र पुर्वाधार पर्वत जिल्लामा भएका कारण यसलाई पुरा गरेर आर्थिक सम्बृद्धिको दिशामा अघि बढ्न आवश्यक भएको बताए ।
‘मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, पर्यटन, जलबिद्युत जस्ता पुर्वाधारहरु समयमा सम्पन्न गर्न सके यस क्षेत्रका सबै क्षेत्रमा परिर्वतन ल्याउन सकिन्छ’ उनले भने ‘यी काम सम्पन्न गर्नमै अब सबै ध्यान केन्द्रित हुनेछ’ उनले कुस्माबजारलाई कैयाँ जोड्न कालीगण्डकीमा मोटरेबल बेलीब्रिज बनाउने तथा कुस्माबजारमा ब्यबस्थित खेल मैदान बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सांसद जुनादेवी नेपालीले ब्यवसायीहरु नाफामुखीसंगै सेवामुखी पनि बन्नुपर्ने धारणा ब्यक्त गरिन ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर बिश्वकर्मा पौडेलले पर्वतका स्थानिय तहले राम्रो संग सम्बृद्धिको मार्गचित्र अनुसार काम गर्ने हो भने पर्वतका सबै पालिका र बजार क्षेत्रहरुमा ठुलै परिर्वतन आउने बताए ।
उनले पर्वतमा बिकास गर्न सकिने धेरै संभावना भएकाले त्यसलाई उपयोग गर्न जरुरी भएको धारणा राखे ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं ४ का अध्यक्ष सञ्जीबबहादुर कोइरालाले प्रदेश नं ४ लाई सबैभन्दा बिकसित र स्रोतसाधन सम्पन्न प्रदेश बनाउन सकिने संभावना भएकाले राज्यले लगानीको क्षेत्रको पहिचान गरि लगानीकर्तालाई उत्प्रेरित गर्न आवश्यक भएको धारणा राखे ।
लगानीको सुरक्षा र लगानीको अवसर देखेमा ब्यबसायीहरु त्यसका लागि तयार भएको उनले धारणा राखे ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजनैतिक दलका प्रतिनिधी, ब्यबसायिक प्रतिष्ठानका प्रमुख, सामाजिक ंसंघसंस्थाका प्रमुखहरुले शुभकामना दिएका थिए ।
कार्यक्रममा धन्यबाद ज्ञापन बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी र सञ्चालन महासचिब ठाकुर बि पौडेलले गरेका थिए ।
सोह्रौ अधिवेशन आगामी ४५ दिन भित्र सम्पन्न हुनेछ । उक्त अधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्नेछ ।
आगामी अध्यक्षका लागि वर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष गोपि अधिकारी, बाणिज्य उपाध्यक्ष केदार शर्मा, उद्योग उपाध्यक्ष शिव शर्मा पौडेल र महासचिव ठाकुर वि. पौडेलको दावी रहेको छ ।
सर्व सहमतीको प्रयास सफल नभए ब्यवसायीको नेतृत्व आगामी चैत्रको पहिलो हप्ता निर्वाचन विधि मार्फत हुने बताइएको छ ।




