Print

प्रदेश नं ४ मा सभामुख पर्वतका नेत्र अधिकारी

२७ माघ, पर्वत । पर्वतबाट निर्वाचित प्रदेशसभा सदस्य नेत्र अधिकारी प्रदेश नं ४ को सभामुख बन्ने पक्का भएको छ ।

नेकपा माओबादी केन्द्रले पर्वतबाट निर्वाचित प्रदेशसभा सदस्य नेत्र अधिकारीलाई प्रदेश सभामा सभामुख बनाउने निर्णय गरेको हो ।

अधिकारी प्रदेश नं ४ मा माओबादी केन्द्रबाट सबैभन्दा महत्वपुर्ण जिम्बेवारी पाउने नेता भएका छन ।

नेकपा माओबादी केन्द्रको शनिबार पोखरामा भएको संसदीय दलको बैठकले पोलिटब्युरो सदस्य समेत रहेका अधिकारीलाई सभामुख बनाउने निर्णय गरेको माओबादी केन्द्रका केन्द्रिय सदस्य त्रिभुवन पौडेलले जानकारी दिए ।

अधिकारीले पार्टीले सभामुख बनाउने निर्णय गरेकोमा पार्टीलाई धन्यबाद दिएका छन ।

उनले अहिले प्रदेशसभाले आवश्यक कानुन बनाउने र सबैका भावना समेटेर अघि बढ्ने बताए ।

‘यो ऐतिहासिक र महत्वपुर्ण जिम्बेवारी प्राप्त गर्ने अवसर दिएकोमा पार्टीलाई धन्यबाद दिन्छु’ उनले भने ‘प्रदेशमा आवश्यक कानुन बनाउने र यसलाई सबैको भावना समेटेर बनाउने कुरामा मेरो भूमिका हुन्छ’ उनले भने ।

माओबादी केन्द्रले प्रदेश नं ४ को संसदीय दलको नेतामा तनहुँका प्रदेशसभा सदस्य हरिबहादुर चुमानलाई चयन गरेको छ भने प्रमुख सचेतकमा बागलुङ्गका चन्द्रबहादुर बुढा र सचेतकमा पर्वतकी गायत्री गुरुङ्गलाई चयन गरेको छ ।