Print

फलेवास नगरपालिकाको अंग्रेजी मोह

४ माघ, पर्वत । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदै गएको बेला फलेवास नगरपालिकाले भने सामुदायिक विद्यालयमा अंग्रेजी भाषमा अध्यापन गराउने तयारी गरेको छ । नरपालिकाको पहिलो नगरसभाबाट नगरपालिकाका सवै सामुदायिक विद्यालयमा अंग्रेजी भाषामा अध्यापन गराउने निर्णय गरेको हो । विद्यालय, विद्यार्थी र अभिभावसंगको अन्तरक्रिया, छलफल र आवश्यकताको पहिचान विना नै नगरपालिकाकाले अंग्रेजी माध्यममा अध्यापन गराउने गरी निर्णय गरेको हो । नगरपालिकाकाले चालु आर्थिक बर्षमा १५ लाख रुपैया रकम शिक्षक तालिममा विनियोजन गरी अहिले शिक्षकहरुलाई तालिम सञ्चालन गरीरहेको छ । योसंगै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा मतहरु जाहेर भएका छन । ठाकुर प्रसाद भुषालले फेसबुकमा टिप्पणी गर्दै भनेका छन–‘रिटाएर हुन लागेका शिक्षकको मजा ।’

अंग्रेजी माध्यमसंगै गुणस्तरीय शिक्षा शुरु हुन नसकेमा नगरपालिकाको योजना असफल हुने भन्दै हरी प्रसाद अधिकारी लेख्छन–‘अंग्रेजी माध्यम ठिक हो तर गुणस्तरीयता चाहिन्छ ।’ नगरप्रमुख पदमपाणी शर्माले आफू विजयी भएदेखि नै अंग्रेजी माध्यमको नारा अगाडि बढाएका छन । अहिले नगरपालिकाले लामो समय देखि नेपाली माध्यममा अध्यापन गराएका र जागिर देखि अवकासको लाइनमा बसेकाहरुलाई माघको चिसो मौसममा नगरपालिकाकाले तालिम कार्यक्रमको आयोजना गरेको छ । अंग्रेजी भाषाको तालिम शुरु भएको बारेमा सामाजिक सञ्जालमै नारायण शर्मा लेख्छन–‘अंग्रेजी भाषा सिकाएर विदेश खेदाउने विचार हो ? के काम छ । यो अरुको भाषा सिकाएर’

टिकाटिप्पणीका वीच नगरपालिकाले चालु आर्थिक बर्षमा अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न कोठा ब्यवस्थापनका लागि समेत २२ लाख रकम विनियोजन गरेको छ । अंग्रेजी भाषा अध्यापन गराउन शिक्षकलाई वुधबार देखि तालिम समेतको शुरुवात गरेको छ । नेपाली भाषामा अध्यापन गराउँदै आएका शिक्षकलाई तालिम दिएर अंग्रेजी भाषामा कक्षा सञ्चालन गर्ने उद्देश्यका साथ नगरपालिकाका सवै विद्यालयका प्राविका शिक्षकलाई तालिम कार्यक्रमको आयोजना गरेको उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिईन । उनले शैक्षिक अवस्थामा नाजुक बन्दै गएका विद्यालयमा अंग्रेजी भाषामा कक्षा सञ्चाालन हुनेभए पछि गुणस्तर सुध्रीने अपेक्षाले यस्तो तालिमको आयोजना गरेको बताईन । नगरप्रमुख शर्माले अंग्रेजी भाषा पढन सदमुरमुकाम र बजार क्षेत्रमा जानेहरुको संख्या रोक्न यस्तो अभियान सञ्चालन गरिएको दावी गरे ।

तालिममा उपस्थित शिक्षकहरुले भने आवश्यकता र चाहना विपरित नगरपालिकाले यस्तो अभियान सञ्चालन गरेको बताएका छन । एक शिक्षक भन्छन–‘विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावकको सहमती र भेलाले विद्यालयस्तरीय निर्णयबाट सञ्चालन गर्न सकिने अंग्रेजी भाषा नगरपालिकाको जर्वजस्ती जस्तै देखियो’ पर्वत न्यूजसंग कुरा गर्दै उनले भने–‘लादिएको नीति कार्यान्वयनमा चुनौति छ ।’ ‘अंग्रेजी भाषमा पढ्न विद्यार्थी तयार हुनुपर्छ, शिक्षक तयार हुनुपर्छ र अभिभावको चाहना हुनुपर्छ’ उनले नीतिगत निर्णयबाट मात्रै नगरपालिकाको शैक्षिक गुणस्तरमा सुधार नहुने तर्क गर्छन । नगरपालिकाकाले भने आगामी ५ बर्ष भित्र कक्षा ५ सम्ममा सवै पाठ्यसामाग्रीहरु अंग्रेजी माध्यममा अध्यापन गराउने उद्देश्य लिएको छ ।