४ माघ, पर्वत । जिल्लाको मोदी गाउँपालिकाको चित्रे वडाले नेपालकै छैटौ बालमैत्री वडाको पदवी लिने भएको छ ।
विगत लामो समय देखि तत्कालीन चित्रे गाउँ विकास समितिले चित्रेलाई बालमैत्री बनाउने गरी सञ्चालन गरेका विभिन्न अभियानले अन्ततः वडालाई बालमैत्री बनाउने भएको हो । मोदी गाउँकार्यपालिकाको बुधवार सम्पन्न वैठकले बालमैत्री वडा निर्माणका सवै सुचकहरु पूरा भएको भन्दै आगामी माघ १५ गते वडालाई बालमैत्री घोषणा गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले दिएको जानकारी अनुसार वडाको सिफारिसमा सवै सुचकहरु पुरा भएको निधो भएसंगै वडालाई गाउँपालिकाले बालमैत्री वडा घोषणा गर्ने निर्णय गरेको हो ।
बुधवार बसेको गाउँ कार्यपालिकाको वैठकले बालबालिकाको लागि कूल पूँजीगत बजेटको १० प्रतिशत रकम विनियोजन गर्ने निर्णय समेत गरेको प्रवक्ता लामिछानेले जानकारी दिए ।
गाउँपालिकाले बुृधवार कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष प्रेम पौडेलले जिल्ला मै पहिलो पल्ट बालमैत्री वडा घोषणाको एतिहासिक कदममा सवैको साथ र सहयोगको अपेक्षा गरे ।
राज्यले तय गरेका ३९ वटा सुचकका सवै उप सुचकहरु वडाले पुरा गरेको भन्दै वडालाई ५ लाख नगद पुरस्कार सहित एक विशेष कार्यक्रमको आयोजना गरी आगामी माघ १५ गते औपचारिक रुपमा बाल मैत्री वडा घोषणा गरिने पौडेलको भनाई छ ।
वडालाई बालमैत्री बनाउन सक्रिय स्थानीय शिक्षक मधुसुदन अधिकारीले गाउँपालिकामा आयोजीत पत्रकार सम्मेलनमा वडाले हालसम्म बालबालिका मैत्री अभियान अन्तर्गत सञ्चालन गरेका गतिविधिहरुको बारेमा जानकारी दिएका थिए । केहि गैर सरकारी संस्था र सरकारी निकायको सहयोगले सञ्चालन गरेका विभिन्न गतिविधिहरुका कारण वडा बालमैत्री वडा बन्ने अभियानमा अग्रसर बनेको अधिकारीको भनाई छ ।
चित्रेका सवै बालबालिका विद्यालयमा जाने गरेका छन । सवै बालबालिकामा खोपको सुनिश्चितता भएको छ । बाल विवाह रोक्न बालबालिका आफै सक्रिय छन । अधिकारी भन्छन–‘बाल सुरक्षा र बाल अधिकारको बिषय वडामा स्थापीत भईसकेको छ ।’ बालमैत्री वडा घोषणा गर्नु आफैमा बालबालिकाको अधिकार स्थापीतको सुरुवाती चरण भएको भन्दै उनले बालमैत्री शिशुको गाउँपालिकाले जन्म दिएको बताए । ‘शिशुलाई हुर्काउने, बढाउने जिम्मा हामी सवैको हो’ उनले भने ।
वडा सचिव गोकूल शर्माले वडालाई बालमैत्री घोषणा गरेसंगै त्यसको दीर्घकालीन ब्यवस्थापनका लागि वडाले पञ्चबर्षिय योजना बनाएको जानकारी दिए । झण्डै ९२ लाखको लागतमा विभिन्न अभियानहरु मार्फत वडाको बालमैत्री भावनालाई संस्थागत गरिने उनको भनाई छ ।
मोदी गाउँपालिकाको चित्रे जिल्लाकै उत्कृष्ट पर्यटकीय गाउँ पनि हो । मनोहर हिमश्रृंखला देखिने चित्रेमा होमस्टेको प्रवद्र्धन र ब्यवस्थापनले आतिथ्यताको हार्दिकतामा थप बृद्धि भएको छ । पूर्ण सरसफाई तर्फ उन्मुख चित्रे अतिथिहरुको आतिथ्यतामा जिल्ला कै अग्रणी वडा पनि हो ।




